अर्थतन्त्रमा सुधार रेशम खेतीको विस्तारबाट सम्भव छ : कृषिमन्त्री
काठमाडौँ । कृषि तथा पशुपन्छीमन्त्री डा. मदनप्रसाद परियारले रेशम उद्योगले ग्रामीण आयआर्जन तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिने बताएका छन् ।
ह्याण्डलुम फ्याब्रिक्स मेकर्स अफ नेपाल र रेशम विकास केन्द्रको संयुक्त आयोजनामा शनिबार आयोजित राष्ट्रिय रेशम सम्मेलनमा उनले सीप तथा उद्यम विकासमा युवाको संलग्नता, आयत प्रतिस्थापन, निर्यात प्रवर्द्धन एवं जलवायु अनुकूलित हरित अर्थतन्त्रको प्रवर्द्धनमा पनि रेशमखेतीले योगदान दिनेमा विश्वास व्यक्त गरे ।
उनले रेशमखेतीले औद्यागिक विकास र विस्तार गर्दै आर्थिक समृद्धिमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्न सक्ने प्रचुर सम्भावना रहेको बताए ।
मन्त्री परियारले भने, ‘रेशम उद्योगको भविष्य तीन तहकै सरकारबीच स्पष्ट भूमिका बाँडफाँट, निजी क्षेत्रसँगको विश्वसनीय साझेदारी, रेशम विकास केन्द्रलगायतका सरोकारवाला संस्थाको सवलीकरण, भरपर्दो समन्वय र सहकार्यमा निर्भर छ ।’
त्यस अवसरमा पूर्वमन्त्री आनन्दप्रसाद पोख्रेलले हावापानीका हिसाबले नेपाल कृषि सङ्ग्रहालयका रुपमा रहेको उल्लेख गर्दै यहाँका उत्पादनलाई पर्यटनसँग जोडेर लैजानुपर्ने धारणा राखे ।
उनले नेपालको पहिचान बोकेका स्थानीय उत्पादन तथा किम्बु र टिम्मुरजस्ता आय–आर्जनको सम्भावना बोकेका वस्तु प्रवर्द्धनमा सरकारको ध्यान जान जरुरी रहेको बताए ।
ह्याण्डलुम फ्याब्रिक्सका अध्यक्ष रोशनकुमार पोखरेलले रेशम कुनै साधारण रेशा मात्र नभई इतिहास, संस्कृति, जीविकोपार्जन र भविष्यको सम्भावना भएको बताए ।
कृषि विभागका उपनिर्देशक राजेन्द्र कोइरालाले २५ वर्षअघिसम्म नेपालमा रेशमखेती राम्रो अवस्था रहेको उल्लेख गर्दै त्यसपछि क्रमशः न्यून हुँदै गएको बताए ।
