कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गगन–विश्वलाई अपिल– पार्टी एकता प्रतिकूल गतिविधि नगर्नुहोस्
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकता प्रतिकूल गतिविधि नगर्न अपिल गरेका छन् ।
महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्र जारी रहँदा खड्काले विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् ।
उनले पार्टीमा एकतासाथ अगाडि बढ्न महामन्त्रीद्वय, महाधिवेशन प्रतिनिधिहरू सबैलाई अनुरोध गरे ।
सभापति शेरबहादुर देउवासँग निकटस्थ नेताहरूको छलफलपछि कार्यवाहक सभापति खड्काले विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा निर्वाचनपछि आगामी वैशाखमा १५औँ महाधिवेशन हुने र त्यहीँ महाधिवेशनमा नीति परिमार्जन र नेतृत्वको सहज परिवर्तन गर्नुपर्ने बताएका छन् । उनले कांग्रेस अहिले निकै अप्ठेरो अवस्थामा रहेको पनि बताए ।
यता विशेष महाधिवेशनबाट कांग्रेसको नीति र नेतृत्व दुवै फेर्ने महामहामन्त्री गगन थापाले घोषणा गरिसकेका छन् । त्यसो हुँदा अब गगन सभापति बन्ने सम्भावना बढेर गएको छ ।
यदि, बन्दसत्रको हलबाट देउवालाई हटाएर गगन सभापति भए त्यसले पार्टी विभाजन गर्ने संशय पनि प्रकट भइरहेको छ ।
यस्तोमा कार्यवाहक सभापति खड्काले देउवासँगको छलफलपछि विज्ञप्ति जारी गरेर पार्टी एकता प्रतिकूल पार्ने गतिविधि नगर्न आग्रह गरेका हुन् ।

