इरानमा राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै
इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका कारण केही समय बन्द रहेको सञ्चार सेवा आंशिक रूपमा खुल्न थालेपछि केही नागरिकले पहिलो पटक बाहिरी संसारसँग सम्पर्क गर्न सकेका छन् । उहाँहरूले राजधानी तेहरानमा देखिएको सुरक्षा व्यवस्था र केही स्थानमा भएको क्षतिको अवस्था साझा गरेका छन् ।
तेहरानका बासिन्दाका अनुसार मोबाइल फोनमार्फत बाहिर कल गर्न सकिए पनि सन्देश सेवा अझै पूर्ण रूपमा सञ्चालनमा आएको छैन। इन्टरनेट पहुँच पनि सरकारी रूपमा स्वीकृत वेबसाइटसम्म सीमित रहेको बताइएको छ । करिब साढे चार दिन विश्वसँग सम्पर्क विच्छेद भएपछि राजधानीका प्रमुख सडक र चोकमा दंगा नियन्त्रण प्रहरी तथा सादा पोसाकका सुरक्षाकर्मीको उपस्थिति देखिएको उहाँहरूको भनाइ छ ।
प्रदर्शनका क्रममा केही बैंक तथा सरकारी कार्यालयमा आगलागी भएको, एटीएमहरू क्षतिग्रस्त भएको र इन्टरनेट बन्द हुँदा बैंकिङ सेवा प्रभावित भएको जानकारी दिइएको छ । यद्यपि, अधिकांश पसलहरू खुलेका छन्, तर ग्राहकको आवतजावत सीमित देखिएको छ । केही पसलेले बजार खोल्न सुरक्षाकर्मीबाट आग्रह आएको बताएका छन् ।
मानव अधिकारसम्बन्धी संस्थाहरूले प्रदर्शन सुरु भएयता धेरै व्यक्तिको ज्यान गएको र ठूलो सङ्ख्यामा मानिस पक्राउ परेको बताएका छन् । इरानी सरकारले भने यसबारे आधिकारिक विवरण सार्वजनिक गरेको छैन ।
यसैबीच, इरानी अधिकारीहरूले अमेरिकासँग कूटनीतिक संवाद जारी रहेको बताएका छन्। अमेरिकी पक्षले आवश्यक परे विभिन्न विकल्प अपनाउन सक्ने जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूबारे नयाँ आर्थिक उपाय घोषणा गर्नुभएको छ ।
इन्टरनेट सेवा पूर्ण रूपमा सञ्चालनमा नआएकाले इरानभित्रको समग्र अवस्था बाहिरबाट मूल्याङ्कन गर्न अझै चुनौतीपूर्ण रहेको छ । तर नागरिकहरूले दिएका अनुभवले देशमा अवस्था संवेदनशील रहेको देखाएको छ ।
