जोखिम बुझ्ने इन्जिनियर, उत्तरदायित्व खोज्ने नेता, महोत्तरी–२ बाट दीपककुमार कर्णको सार्वजनिक सेवातर्फ कदम !
काठमाडौं । इन्जिनियर तथा साइबर सुरक्षाका क्षेत्रमा एक दशकभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव हासिल गरेका दीपककुमार कर्णले महोत्तरी क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आन्तरिक उम्मेदवार चयन प्रक्रियामा उम्मेदवारी घोषणा गरेका छन् ।
सार्वजनिक सेवामा प्रवेश गर्ने उद्देश्यसहित कर्णले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचन लड्न चाहेका छन् ।
कम्प्युटर इन्जिनियरिङमा स्नातक कर्णले आईबीएम, रिक्वाटा, लगप्वाइन्टजस्ता बहुराष्ट्रिय कम्पनीहरूमा साइबर सुरक्षा तथा जोखिम व्यवस्थापन प्रणालीमा काम गरेका छन् ।
उनले विश्वस्तरका संस्थाहरूमा नेतृत्वदायी भूमिकामा रही गुणस्तर, सुरक्षा र प्रणालीगत असफलताका जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्याएका छन् ।
आफ्नो व्यावसायिक अनुभव सार्वजनिक सेवामा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै कर्णले जोखिमलाई समयमै पहिचान गर्ने, असुरक्षित निर्णयलाई चुनौती दिने र उत्तरदायित्वपूर्ण शासन प्रणाली निर्माणमा योगदान पुर्याउने लक्ष्य राखेको बताएका छन् ।
‘आउटपुट मात्र होइन, निर्णयको स्पष्टता र त्यसको उत्तरदायित्व नै सफल शासनको आधार हो,’ कर्ण भन्छन् ।
उनका अनुसार राजनीतिक दलहरूमा उत्तरदायित्वको अभावका कारण राज्य संयन्त्रमा विभिन्न संरचनागत कमजोरीहरू देखिएका छन्, जसको सुधार आजको प्रमुख आवश्यकता हो ।
‘जोखिमलाई ढाकछोप गर्ने होइन, पहिचान गरेर समाधान गर्ने संस्कार राज्यमा बसाल्नुपर्छ,’ उनले जोड दिए ।
महोत्तरी–२ का नागरिकको सुरक्षित भविष्य, रोजगारी सिर्जना, प्रविधिमैत्री शासन, उत्तरदायी सार्वजनिक सेवा र संस्थागत सुधार आफ्नो मुख्य प्राथमिकता रहने कर्णले स्पष्ट पारे ।
पार्टी अनुशासनप्रति स्पष्ट प्रतिबद्धता जनाउँदै उनले पार्टीको निर्णयलाई सहर्ष स्वीकार गर्ने र अन्ततः आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिह्नका उम्मेदवारलाई विजयी बनाउने जिम्मेवारीमा आफू पूर्ण रूपमा प्रतिबद्ध रहने बताएका छन् ।
जनताको विश्वास नै सबैभन्दा ठूलो शक्ति हो, त्यही विश्वासको जिम्मेवारी लिन दीपककुमार कर्ण राजनीतिमा आउन लागेका हुन् ।
