काठमाडौँ महानगरपालिकाले गर्यो आगामी तीन वर्षको आयव्यय प्रक्षेपण
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी तीन वर्षको आयव्यय प्रक्षेपण गरेको छ । आज कामपाको उपप्रमुख एवं राजस्व परामर्श समितिका संयोजक सुनिता डङ्गोलको अध्यक्षतामा बसेको बैठकले, आन्तरिक आयका स्रोत, राजस्वको क्षेत्र र दायरा तथा खर्चको लेखाजोखा गर्दै आयव्यय प्रक्षेपण गरेको हो ।
बैठकले आव २०८३/८४ का लागि रु १५ अर्ब १३ करोड ३० लाख ५५ हजार, आव २०८४/८५ का लागि रु १५ अर्ब ५१ करोड ८१ लाख ६० हजार र आव २०८५/८६ का लागि रु १५ अर्ब ९८ करोड ८६ लाख ६५ हजार आय अनुमान गरेको छ ।
कामपाको आव २०८१/८२ को यथार्थ आय रु १० अर्ब ७४ करोड ४४ लाख ५४ हजार हो । कामपाले चालु आर्थिक वर्षका लागि रु १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार आय लक्ष्य राखेको छ । जसमध्ये अहिलेसम्ममा रु पाँच अर्ब ६९ करोड आय सङ्कलन भएको छ ।
व्ययतर्फ आव २०८३/८४ का लागि रु २७ अर्ब ६२ करोड ५७ लाख ७५ हजार एक सय, आव २०८४/८५ का लागि रु ३० अर्ब ३८ करोड ८३ लाख ५२ हजार ६१० र आव २०८५/८६ का लागि रु ३३ अर्ब ४२ करोड ७१ लाख ८७ हजार ८७१ अनुमान गरिएको छ ।
बैठकमा आम्दानी र खर्चको तुलनात्मक विश्लेषण गर्दै संयोजक डङ्गोलले, आयले खर्च नियन्त्रण प्रणाली स्थापित गर्दै जानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आम्दानी र खर्च प्रक्षेपणलाई वास्तविक बनाउन आधार, तथ्य र व्यवहारिकता अध्ययनका लागि तेस्रो पक्षबाट सेवा लिएर तथ्य निकाल्नुहोला ।”
स्थानीय सरकारको बजेट, नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न प्रमुख अध्यक्ष रहने स्रोत अनुमान निर्धारण समिति रहने व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६६ मा भएको व्यवस्थाअनुसार समितिमा उपप्रमुख र कार्यपालिका सदस्यमध्ये दलित, अल्पङ्ंख्यकपर्ने गरी प्रमुखले तोक्नुभएका चारजना सदस्य रहनुहुन्छ । समितिको सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ । समितिले आफूलाई प्राप्त हुने आन्तरिक आय, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम, अनुदान, ऋण र अन्य आयको प्रक्षेपण गर्छ ।
यसबाट सन्तुलित वितरणको खाका र बजेटको सीमा निर्धारण गरिन्छ ।
