`

नानीमैयाको अनशन साताैँ दिनमा, लिङ्देन झनै कठोर !

Nepal One HD १ माघ २०८२ १३:२५
राजनीति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कि केन्द्रीय सदस्य नानीमैया आचार्य सात दिनदेखि आमरण अनशनमा छिन् । उनको एउटा मात्रै माग छ– समानुपातिक सूची सच्याऊ ।

अध्यक्ष राजेन्द्र लिङ्देन सच्याउन तयार भएनन् । बरु, झनै कठोर भए । गत शनिबार नानीमैयाँसहित अर्की नेतृ चम्फा अधिकारी अनशनमा बस्दा बिछ्याएको म्याट तान्दै तत्काल हट्न निर्देशन दिए ।

सोमबार त उनीनिकट महिला नेताहरूको एक समूहले गालीगलोजसहित हातपात गरे । पार्टी कार्यालय धुम्बाराहीबाट अनशन बसेकी आचार्य र अधिकारीलाई बलजफ्ती हटाए ।

तर, आचार्यले अनशन तोडेकी छैनन् । नेतृ चाहना अधिकारीले आचार्यको जीवन रक्षाका लागि अपिल गरेकी छिन् ।

‘आज आमरण अनशनको सातौँ दिनमा प्रवेश गरेकी नानीमैया आचार्यको अमूल्य जीवन रक्षाका लागि म सम्पूर्ण सरोकार पक्ष, सम्बन्धित निकाय, राजनीतिक दल, नागरिक समाज तथा जिम्मेवार व्यक्तिहरूसमक्ष हार्दिक अनुरोध गर्दछु,’ उनले बिहीबार आचार्यको तस्बिर राख्दै फेसबुकमा लेखिन् ।

नानीमैया राप्रपाले बुझाएको समानुपातिक सूूची सच्याउन माग गर्दै आमरण अनशनमा बसेपछि पूर्वअध्यक्षहरू पशुपतिशम्शेर राणा, डा. प्रकाशचन्द्र लोहनीलगायत नेताहरू पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिए ।

राष्ट्रिय मानव अधिकार आयोगको टोली पनि अनशनस्थल पुगेर नानीमैयाको स्वास्थ्य स्थितिबारे जानकारी दिँदै उनको मानव अधिकार रक्षाको सुनिश्चितता खोजेको छ ।

अध्यक्ष लिङ्देन भने नानीमैयाको माग सम्बोधन गर्न तयार देखिएका छैनन् । अध्यक्ष लिङ्देनले समानुपातिकको बन्दसूचीमा पार्टीमा योगदान नै नभएका तर आफूसँग निकट भएकै आधारमा उनीहरूलाई समावेश गरेको भन्दै राप्रपामा असन्तुष्टि चुलिएको छ ।

वरिष्ठ उपाध्यक्ष दिलविकास राजभण्डारी, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत असन्तुष्ट छन् ।

खासगरी खस–आर्य महिला क्लस्टरमा खुस्बु ओली र आदिवासी जनजाति महिला क्लस्टरमा पार्टी वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङकी पत्नी सरस्वती लामाको नाम समेटिँदा असन्तुष्टि तह बढेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *