`

आयोगबाट मान्यता पाएपछि गगन थापाको अपिल: एकताबद्ध बनाएर निर्वाचनमा जानुपर्छ

Nepal One HD २ माघ २०८२ २१:३६
अर्थ समाचार

काठमाडौं।  नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टी पंक्तिलाई एकताबद्ध भएर अगाडि बढ्न अपिल गरेका छन्। निर्वाचन आयोगले शुक्रबार साँझ थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसलाई झण्डा र चुनाव चिन्हसहितको आधिकारिकता प्रदान गरेपछि उनले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्।

थापाले विशेष महाधिवेशनमार्फत नेपाली कांग्रेसमा विधि, विधान र पद्धति स्थापित भएको दाबी गर्दै यसलाई विवादको विषय नबनाउन आग्रह गरेका छन्। ‘नेपाली कांग्रेसमा विधि, विधान र पद्धति स्थापित भएको छ। निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टी विधानअनुसार निर्णय गरेको छ। यसप्रति हामी आभारी छौं,’ विज्ञप्तिमा उल्लेख छ।

उनले यो निर्णय नेपाली कांग्रेसका सदस्य र शुभेच्छुकहरूले पार्टीमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमानदार प्रयत्नको साझा परिणाम भएको बताएका छन्। पार्टी अब नेताको चाहनाले मात्र होइन, आम सदस्यको चाहनाले चल्ने स्थापित भएको उनको भनाइ छ।

थापाले विशेष महाधिवेशनमा सहभागी भए–नभएका, सहमत वा असहमत सबै नेता–कार्यकर्तालाई संयमित र जिम्मेवार बन्न आग्रह गर्दै कांग्रेसलाई जय–पराजयको विषयमा नअल्झाउन अनुरोध गरेका छन्। ‘अब कांग्रेस नवीन ऊर्जा र एकतासहित रुपान्तरणको दिशामा अघि बढेको छ। रिफर्मको यात्रा सुरु भइसकेको छ,’ उनले भने।

आसन्न निर्वाचनमा उच्च आत्मविश्वासका साथ एकढिक्का भएर लाग्नुपर्ने उल्लेख गर्दै थापाले पूर्व सभापति शेरबहादुर देउवासहित पार्टीका सबै तहका नेताहरूबाट लोकतान्त्रिक प्रक्रियालाई स्वीकार गर्दै पूर्ण सहयोग रहने विश्वास व्यक्त गरेका छन्।

‘आजबाट कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन,’ भन्दै उनले पार्टी आम मानिसको सार्वजनिक पुँजी भएको उल्लेख गरेका छन्। कांग्रेस अब मूल्य र सिद्धान्तविपरीत कुनै सम्झौता नगर्ने र सत्ताका लागि अप्राकृतिक गठबन्धनको अन्त्य गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।

अन्त्यमा, थापाले लोकतन्त्र र समुन्नत नेपालको निर्माणका लागि कांग्रेसले नेतृत्व गर्ने उल्लेख गर्दै सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *