काठमाडौँका १० निर्वाचन क्षेत्रमा को कहाँबाट लड्दैछन् चुनाव ? (भिडियाेसहित)
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरूले काठमाडौंका दशवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन आयोगले तोकेको समय आज बेलुकी ५ बजेसम्ममा दलहरूले उम्मेदवारी दर्ता गराएका हुन् । केही स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवारी दिएका छन् ।
काठमाडौँ क्षेत्र नम्बर १ मा प्रमुख दलहरूले चर्चित र अनुभवी उम्मेदवार अघि सारेका छन् । नेकपा एमालेबाट मोहनराज रेग्मीले उम्मेदवारी दर्ता गराएका छन् भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मेनुका भण्डारीलाई उम्मेदवार बनाएकाे छ । नेपाली कांग्रेसले यसपटक प्रवल थापालाई उम्मेदवार बनाएको छ। यसअघि यही क्षेत्रबाट कांग्रेसका तर्फबाट प्रकाशमान सिंह चुनाव लड्दै आएका थिए। तर पार्टीभित्रको आन्तरिक विवादका कारण यसपटक सिंह चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन्। उनले पटकपटक यस क्षेत्रबाट निर्वाचन जितेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यहाँ रन्जु दर्शनालाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रवीन्द्र मिश्रलाई मैदानमा उतारेको छ। मिश्र २०७९ काे निर्वाचनमा सिंहसँग निकै कम मतान्तरले पराजित भए ।
काठमाडौं–२ मा पनि राप्रपाले महामन्त्री कुन्ती पोखरेललाई उम्मेदवार बनाएको छ। नेकपाबाट नितेश पौडेल उम्मेदवारी दिएका छन् । रास्वपाले सुनिल केसीलाई उम्मेदवार बनाएको छ। अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट रास्वपाकी सोबिता गौतम विजयी भएकी थिइन्। यसपटक गौतम चितवन झरेपछि केसी नयाँ उम्मेदवारका रूपमा आएका हुन्।
नेपाली कांग्रेसले कविर शर्मालाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेका मणिराम फुयालले मनोनयन दर्ता गराएका छन्। फुयालले कागेश्वरी मनोहरा नगरपालिकामा समर्थकहरूको उपस्थितिमा उम्मेदवारी दर्ता गराएका हुन्।
यही क्षेत्रबाट नेकपा संयुक्त, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र उम्मेदवारहरूले पनि उम्मेदवारी दर्ता गराइसकेका छन्।
काठमाडौं–३ बाट उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उम्मेदवारी दर्ता गराएका छन्। नेकपा एमालेले रामेश्वर फुयाललाई उम्मेदवार बनाएकाे छ ।
रास्वपाले काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई उम्मेदवार बनाएको छ भने नेपाली कम्युनिस्ट पार्टीबाट निरज लामा उम्मेदवार बनाएकाे छ । नेपाली कांग्रेसले यस क्षेत्रमा रमेश अर्याललाई अघि सारेको छ। उनीहरुले उम्मेदवारी दर्ता गराइसकेका छन् । यहाँबाट गत निर्वाचनमा कांग्रेसका सन्ताेष चालिसे निर्वाचित भएका थिए ।
काठमाडौं–४ मा नेपाली कांग्रेसले सचिन तिमिल्सिनालाई प्रतिनिधिसभा उम्मेदवार बनाएकाे छ । उनले उम्मेदवारी दर्ता गराएका छन् । रास्वपाबाट पुकार बम चुनावी मैदानमा उत्रिएका छन्। यसअघि बम काठमाडौँ–१ बाट चुनाव लड्दै आएका थिए।
नेकपाले इन्द्र भुसाललाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले राजन भट्टराईलाई टिकट दिएको छ। भट्टराई यसअघि यही क्षेत्रबाट तीनपटक पराजित भइसकेका नेता हुन्। यहाँबाट कांग्रेस सभापति गगन थापा २०७० यता लगातार निर्वाचित भए । उनी यसपटक सर्लाही-४ गएका छन् ।
काठमाडौं–५ मा नेपाली कांग्रेसले महामन्त्री प्रदीप पौडेललाई उम्मेदवार बनाएको छ। पौडेलले यसअघि यही क्षेत्रबाट निर्वाचन जितेका थिए।
नेकपा एमालेले पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेललाई उम्मेदवार बनाएको छ। पोखरेल २०७९ को निर्वाचनमा पौडेलसँग पराजित भएका थिए। नेकपाबाट कल्पना शर्मा उम्मेदवार बनेकी छन् भने रास्वपाबाट सस्मित पोखरेल मैदानमा छन्। गतिशिल लोकतान्त्रिक पार्टीबाट निशा अधिकारीले पनि उम्मेदवारी दर्ता गराएका छन्। उनी अभिनेत्रीसमेत हुन् ।
काठमाडौं–६ मा नेपाली कांग्रेसले पार्टी सभापति समेत रहेका सबुज बानियाँलाई उम्मेदवार बनाएको छ। यसअघि पनि आकांक्षी रहेका बानियाँ यसपटक टिकट पाउन सफल भएका हुन्। रास्वपाबाट शिशिर खनाल उम्मेदवार बनेका छन्। खनाल २०७९ को निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए। नेकपा एमालेबाट अमनकुमार मास्के उम्मेदवार छन् भने नेकपाले हिमाल क्षेत्रीलाई अघि सारेको छ।
काठमाडौं–७ मा नेपाली कांग्रेसले प्रमोदहरी गुरागाईंलाई उम्मेदवार बनाएको छ। रास्वपाबाट गणेश पराजुली चुनाव लड्दैछन्। पराजुलीले अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट विजय हासिल गरेका थिए। नेकपाले बसन्त मानन्धरलाई टिकट दिएको छ।
काठमाडौं–८ मा नेपाली कांग्रेसले सपनाराज भण्डारीलाई उम्मेदवार बनाएको छ। उनी पूर्वमन्त्री स्वर्गीय नवीन्दराज जाेशीकी श्रीमती हुन् । उनी अघिल्लाेपटक समानुपातिक सासद थिइन् । नेकपा एमालेबाट राजेश शाक्य, नेकपाबाट सुमन सायमी र रास्वपाबाट विराजभक्त श्रेष्ठ उम्मेदवार बनेका छन्। श्रेष्ठले अघिल्लो निर्वाचनमा पनि यही क्षेत्रबाट जितेका थिए।
काठमाडौं–९ मा नेपाली कांग्रेसले नानु बास्तोलालाई उम्मेदवार बनाएको छ। नेकपाबाट राधाकृष्ण महर्जन उम्मेदवार छन्। रास्वपाले पार्टी उपसभापति डि.पी. अर्याललाई चुनावी मैदानमा उतारेको छ भने नेकपा एमालेबाट अजयक्रान्ति श्रेष्ठ उम्मेदवार बनेका छन्।
काठमाडौं–१० मा नेपाली कांग्रेसले हिमाल कार्कीलाई उम्मेदवार बनाएको छ। नेकपा एमालेबाट मजदुर संघका अध्यक्ष विनोद श्रेष्ठ उम्मेदवार छन्। नेकपाले रुपा महर्जनलाई अघि सारेको छ भने रास्वपाबाट प्रदीप विष्ट उम्मेदवार बनेका छन्।
उम्मेदवारी दर्तासँगै काठमाडौँमा चुनावी माहोल तातिएको छ। आगामी दिनमा चुनावी प्रचार–प्रसार थप तीव्र हुने अपेक्षा गरिएको छ।
