`

नेदरल्यान्ड्सले दियो नेपाललाई १४१ रनको लक्ष्य

Nepal One HD ८ माघ २०८२ ११:२४
खेलकुद

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेदरल्यान्ड्सले नेपाललाई जितका लागि १४१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार बिहान टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ४० रन बनाएको हो । दुवै ओपनरलाई सस्तैमा गुमाएको नेदरल्यान्ड्सका लागि तेस्रो नम्बरमा क्रिज समाल्न आएकी कप्तान बाबेट डे लिडले उत्कृष्ट पाली खेलिन् ।

उनी केवल एक रनका कारण अर्धशतक पूरा गर्नबाट चुकिन् । उनले टोलीका लागि ४९ रनको योगदान गरिन् । यसक्रममा उनले ४७ बलको सामना गरी ६ चौका पनि हिर्काइन् । चौथो नम्बरकी ब्याटर स्टेर कालिसले पनि टोलीको खातामा महत्वपूर्ण ३० रन थपिन् । पेभेलियन फर्किनुअघि उनले ३४ बलमा दुई चौका प्रहार गरिन् ।

नेदरल्यान्ड्सले १५ रनको कुल स्कोरमै दुवै ओपनरलाई गुमाएको थियो । त्यसपछि कप्तान बाबेट डे लिड र स्टेर कालिसले टोलीको स्कोरलाई ९४ रनको सम्मानजनक स्थितिमा पुर्‍याएका थिए । ओपनर हिथर सिजर्स १३ रन बनाउँदै आउट भएकी थिइन् भने अर्की ओपनर फेब मोल्केनबोयरले खातासम्म खोल्न सकिनन् ।

पाँचौं नम्बरमा क्रिज समाल्न आएकी रोबिन रिजकेले अविजित १९, फ्रेडरिक ओभरडिकले पाँच र आइरिस ज्विलिङले अविजित १४ रन बनाए । नेदरल्यान्ड्सले अतिरिक्त रुपमा पनि १० रन पायो । नेपाली टोलीका बलर रुविना क्षेत्रीले दुई विकेट लिइन् । सुमन बिष्ट, पूजा महतो र रिया शर्माले पनि एक–एक विकेट हात पारे ।

छनोट प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपाली टोलीले खेलिरहेको यो दोस्रो खेल हो । आफ्नो पहिलो खेलमा भने नेपाली टोली थाइल्यान्डसँग आठ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले भने आफ्नो तेस्रो खेल खेलिरहेको हो । नेदरल्यान्ड्सको टोली अघिल्ला दुवै खेलमा विजयी भएको थियो ।

आफ्नो पहिलो खेलमा जिम्बाब्वेलाई २२ रनले पराजित गरेको नेदरल्यान्ड्सको टोलीले दोस्रो खेलमा स्कटल्यान्डमाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो । समूह ‘बी’ तालिकामा चार अंकसहित थाइल्यान्ड पहिलो र समान अंक बटुलेको नेदरल्यान्ड्स दोस्रो स्थानमा आसिन छन् । तालिकाको तेस्रो स्थानमा आसिन स्कटल्यान्डले एक खेल खेले पनि अंक बटुल्न सकेको छैन । दुवै खेलमा पराजित भएको जिम्बाब्वे चौथो र एक खेल खेलेको नेपाल पाँचौं स्थानमा छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *