`

हर्कलाई सरिनको चुनौती, सुनसरी–१ मा कसको होला जित ? (भिडियाेसहित)

Nepal One HD ९ माघ २०८२ १२:२०
निर्वाचन विषेश

महाभिडन्त फागुन २१, सुनसरी- १

काठमाडौं । कुनै बेला कम्युनिष्टहरूको गढका रुपमा चिनिएको सुनसरी निर्वाचन क्षेत्र नम्बर १मा हर्क साङपाङको उदय र रास्वपाकी गोमा तामाङ (सरिन)को लोकप्रीयताले चुनावी रौनक मात्रै बढाएको छैन, परम्परागत शक्तिलाई छायामा पनि पारेको छ ।

यहाँ हर्क साम्पाङ श्रम संस्कृति पार्टीबाट, एमालेबाट टीकाराम लिम्बु, कांग्रेसबाट सुजेन्द्र तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सरिन तामाङ (गोमा) चुनावी मैदानमा छन् । यी उम्मेदवारहरू चुनावमा उत्रिँदा देशवासीको ध्यान सुनसरी–१ ले तानेको छ ।

विगतको चुनावी परिणामले भन्छ, सुनसरी–१ कम्युनिस्ट गढ हो । तर, रास्वपाकी सरिन तामाङ ती उम्मेदवार हुन्, जसले २०७९ को चुनावमै कम्युनिस्ट गढ झण्डै भत्काइदिइन् । उनै सरिन रास्वपाबाट यसपटक पनि चुनावी प्रतिस्पर्धामा छिन् ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले समर्थित जनता समाजवादी पार्टी नेपालका उम्मेदवार अशोककुमार राईसँग उनी ४५३ मतले पराजित भइन् । अर्थात् अशोकले १७ हजार ०५९ मत पाउँदा सरिनले १६ हजार ६०६ मत पाएकी थिइन् । त्यसो हुनाले गत निर्वाचनमै कम्युनिस्ट किल्ला सुनसरी– १ धर्मराएको थियो । त्यसो हुनाले रास्वपाकी सरिन खतरनाक उम्मेदवार हुन् ।

यसपटक त्यहाँको निर्वाचनमा देशकै ध्यान खिच्‍ने उम्मेदवारचाहिँ धरानका भाइरल मेयर हर्क साम्पाङ हुन् । उनी बलिया प्रतिस्पर्धी मानिन्छन् । उनले नवयुवा, गैरदलीय र असन्तुष्ट मतदातालाई आकर्षित गर्न सक्छन् । उनको छवि लोकप्रिय छ ।

धरानका मेयर छँदा धरानको खानेपानी समस्या समाधान गर्न पहल गरेकोदेखि श्रम संस्कृति पार्क निर्माण गरेको, सुम्‍निमा र पारुहाङको शालिक निर्माण गरेको विषयले चर्चामा छन् । उनले नेपाली समाजमा परापूर्वकालदेखि चल्दै आएको श्रमदानलाई संस्कृतिकै रूपमा देशव्यापी फैलाएका छन् ।

व्यक्तिगत लोकप्रीयता भए पनि बलियो पार्टी संरचना नहुनु उनको कमजोरी मानिन्छ । उनी मेयर हुँदा अख्तियारमा अनियमितताको उजुरी पनि परेको छ । तर, उनको लोकप्रियतामा कमी आएको छैन ।

एमालेले अघि सारेका उम्मेदवार टीकाराम लिम्बू पनि राम्रो छविका नेता हुन् । उनलाई एमालेको जितको विरासत धान्‍ने अभिभारा अध्यक्ष केपी शर्मा ओलीले दिएका छन् ।

संगठित मत, जुझारु कार्यकर्ता र निर्वाचन व्यवस्थापनमा अब्बल एमाले अझै बलियो देखिन्छ । तर, बहुपक्षीय प्रतिस्पर्धा र जेन–विद्रोही माहोल एमालेका लागि चुनौतीपूर्ण छ ।

कांग्रेस उम्मेदवार सुजेन्द्र तामाङ आदिवासी आन्दोलनसँग जोडिएका, पूर्वकर्मचारी पृष्ठभूमिका प्रभावशाली उम्मेदवार हुन् । यहाँ आदिवासी जनजाति समुदायको बाहुल्यता छ र कांग्रेसको त्यहाँ कहिल्यै जित नभए पनि स्थिर मतदाता छ । यस्तोमा पार्टी सभापति गगन थापाले कांग्रेसका प्रभावशाली नेता तामाङलाई चुनावी मैदानमा उतारेका हुन् ।

नेकपाबाट उम्मेदवार बनेका मनोज भट्टराई धरान–१७ का पूर्ववडाध्यक्ष हुन् । विगतमा धरान उपमहानगरको कार्यपालिका बैठकमा हर्क साम्पाङसँग भएको नोकझोंकले उनी चर्चामा थिए । उनी कार्टुनिस्टहरूले ट्रोल बनाइएका नेता पनि हुन् ।

विगतमा धरानको कार्यपालिका बैठकमा हर्क र मनोजबीचको नोकझोंक चल्थ्यो । उनीहरू दुवै यसपटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका हुन् । यहाँ दल र स्वतन्त्र गरी २८ जना उम्मेदवार छन् ।

तर, चुनावी माहोलले हर्क साम्पाङ, सरिन तामाङ, टीकाराम लिम्बू, सुजेन्द्र तामाङ र मनोज भट्टराईबीच चर्को चुनावी प्रतिस्पर्धा हुने संकेत गरेको छ ।

सुनसरी– १ मा धरान उपमहानगरपालिकासँगै बराह नगरपालिकाको १, २, ३, ४ र ५ नम्बर वडा र रामधुनी नगरपालिकाको ६ र ७ नम्बर वडा समेटिएका छन् ।

निर्वाचन कार्यालय सुनसरीका अनुसार यहाँ कूल मतदाता एक लाख ५० हजार ३९३ मतदाता छन् । यी मतदाताहरूको मत सबैभन्दा बढी कसले पाउँछन् ? चुनाव उनैले जित्‍ने हुन् ।

फेरि, यसपटकको निर्वाचन जेन–जी विद्रोहको पृष्ठभूमिमा हुँदैछ । केही राजनीतिक विश्लेषकका अनुसार जेन–विद्रोहको हावा जुन उम्मेदवारले चलाउन सक्छन्, उनले जितको माहोल बनाउन सक्छन् ।

विगतको चुनावी परिणाम केलाउँदा भने यहाँबाट २०४८ सालमा एमालेबाट मनमोहन अधिकारी निर्वाचित भए । पछि उनी नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री बने ।मनमोहनपछि पनि यहाँ २०५१ मा एमालेकै लीला श्रेष्ठ सुब्बा र २०५६ मा कुन्ता शर्माले चुनाव जितिन् । एमालेको यहाँ ह्याट्रिक जित थियो ।

२०६४ को संविधानसभा निर्वाचनमा भने १० वर्ष सशस्त्र युद्ध लडेको नेकपा माओवादीका नेता किरणकुमार राई निर्वाचित भए । कांग्रेस र राप्रपाले कहिल्यै चुनाव नजितेको सुनसरी– १ मा एमालेको लालगढ कसैले तोढ्यो भने त्यो माओवादीले तोडेको थियो ।

त्यसपछि दोस्रो संविधानसभा निर्वाचन २०७० मा एमालेकै कृष्णकुमार राई, २०७४ को प्रतिनिधिसभा निर्वाचन पनि एमालेकै जयकुमार राईले निर्वाचन जिते । २०७९ को प्रतिनिधिसभा निर्वाचन भने एमाले समर्थित जसपाका अशोककुमार राईले जितेका थिए ।

२०८२मा आइपुग्दा एमालेको बलियो प्रभाव क्षेत्रमा श्रम संस्कृतिका हर्क साम्पाङ, रास्वपाकी सरिन तामाङ, कांग्रेसका सुजेन्द्र तामाङ र नेकपाका मनोज भट्टराईलाई एमाले उम्मेदवार टीकाराम लिम्बूविरुद्ध जित निकाल्न त्यति सहज भने छैन ।

तर, कतिपय राजनीतिक विश्लेषक यदि हर्क साम्पाङ र सरिन तामाङबीच नवपुस्ताको मत विभाजन अधिक भए एमाले उम्मेदवारलाई जितका लागि सहज हुने विश्लेषण गर्छन् । मत विभाजन कम भए चर्को प्रतिस्पर्धा हुने ठानिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *