`

नेपालगञ्जमा बालेनलाई कार्यकर्ता र समर्थकको भव्य स्वागत {तस्वीरहरु}

Nepal One HD १२ माघ २०८२ १४:५६
फोटोफिचर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को चुनावी अभियान पश्चिम नेपालमा पनि उस्तै उत्साहका साथ अघि बढिरहेको छ । पूर्वी नेपालमा एक चरणको चुनावी अभियान सम्पन्न गरी बालेन शनिबार नेपालगञ्ज पुगेका हुन् ।

नेपालगञ्ज विमानस्थल बाहिर बालेनको स्वागतका लागि ठूलो संख्यामा पार्टी कार्यकर्ता, समर्थक र सर्वसाधारणको भीड लागेको थियो । विमानस्थलबाट बाहिरिँदा उनी रूफटप कारमा देखिएका थिए, जहाँ उनलाई नजिकबाट हेर्न र सेल्फी खिच्न समर्थकहरूको घुइँचो लागेको थियो । सडकछेउ मात्र होइन, वरपरका घरका छतछतमा समेत स्थानीयहरू बालेनलाई हेर्न भेला भएका दृश्यले पश्चिममा पनि उनको लोकप्रियता झल्काएको थियो ।

नेपालगञ्ज विमानस्थलमा बालेनको स्वागतका लागि रास्वपाका केन्द्रीय सदस्य खगेन्द्र सुनारसहित स्थानीय नेता तथा कार्यकर्ता उपस्थित थिए । पूर्वी नेपालका विभिन्न जिल्लामा चुनावी अभियान सकेर पश्चिमतर्फ लागेका बालेन बाँके हुँदै सुदूरपश्चिमका विभिन्न जिल्लामा पुग्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ । यही सन्दर्भमा उनको चुनावी अभियानलाई विशेष महत्वका साथ हेरिएको छ । सुदूरपश्चिममा बालेननिकट दुई व्यक्तिहरू उम्मेदवार बनेकाले त्यहाँको अभियानलाई प्राथमिकतामा राखिएको बताइएको छ । उनका प्रमुख स्वकीय सचिव भूपदेव शाह अछाम–२ बाट र पार्टीको कोर टिमका सदस्य केपी खनाल कैलाली–२ बाट उम्मेदवार बनेका छन् ।

यी निर्वाचन क्षेत्रलाई केन्द्रमा राख्दै बालेन केही दिन सुदूरपश्चिमका जिल्लाहरूमा चुनावी प्रचारमा सक्रिय रहने छन् । त्यसपछि उनी काठमाडौं फर्किने र काठमाडौं तथा ललितपुरका केही निर्वाचन क्षेत्रमा समेत चुनावी अभियानमा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ । पूर्वदेखि पश्चिमसम्म देखिएको भीड, उत्साह र समर्थकहरूको सक्रियताले बालेनको चुनावी अभियानले नयाँ राजनीतिक तरंग सिर्जना गरिरहेको संकेत गरेको छ ।
तस्वीरहरु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *