विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन
काठमाडौं । भारत महाराष्ट्र राज्यका उपमुख्यमन्त्री एवं प्रभावशाली नेता अजीत पवारको विमान दुर्घटनामा परी निधन भएको छ । बुधबार बिहान महाराष्ट्रको बारामतीमा उनी सवार निजी विमान दुर्घटनामा परेको हो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार ६६ वर्षीय पवार मुम्बईबाट आफ्नो गृहनगर बारामतीका लागि उडेका थिए । बिहान करिब ८ः४५ बजे बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो।
नागरिक उड्डयन महानिर्देशनालय (डिजिसीए) ले दिएको जानकारी अनुसार दुर्घटनामा उपमुख्यमन्त्री पवारसहित विमानमा सवार सबै ५ जनाको मृत्यु भएको छ । मृत्यु हुने अन्यमा उनका स्वकीय सचिव, सुरक्षाकर्मी र चालक दलका सदस्यहरू रहेका छन् । डिजिसीएले दुर्घटनाको प्रकृति हेर्दा विमानमा सवार कोही पनि जीवित रहने सम्भावना नरहेको पुष्टि गरेको छ ।
बीबीसी मराठीसँग कुरा गर्दै पवारका स्वकीय सचिव अनिल ढिकले दुर्घटनाको खबरको पुष्टि गरेका छन् । मुम्बईबाट उडेको ‘ख्त्क्क्प्, ीव्४५’ कलसाइन रहेको उक्त चार्टर विमान अवतरणका क्रममा अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
महाराष्ट्रको राजनीतिमा ‘दादा’ उपनामले चिनिने पवारको आकस्मिक निधनले भारतीय राजनीतिमा शोक छाएको छ । राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का वरिष्ठ नेता समेत रहेका पवारको निधनलाई महाराष्ट्रको राजनीतिमा एक अपूरणीय क्षतिको रूपमा हेरिएको छ । घटनाको विस्तृत विवरण र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको भारतीय अधिकारीहरूले जनाएका छन् ।
