एक रात हिरासत बसेपछि युवराज सफलको प्रतिक्रिया : बाघलाई धेरै बेर थुन्न सकिन्नँ, चेतना भया
काठमाडौं । साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेका युवराज सफलले सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा छाडेपछि कडा प्रतिक्रिया दिएका छन् । आफूलाई बाघसँग तुलना गर्दै उनले भने, ‘वास्तविक बाघलाई धेरै बेर सुन्न सकिन्नँ, चेतना भया ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेनसहितका आरोपीहरूको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी दुई मुद्दा फिर्ता लिन अभियोगपत्र संशोधन गर्न महान्यायाधिवक्ता सविता भण्डारीले कदम चालेपछि सफलले कडा प्रतिवाद मात्रै गरेनन्, गालीगलौजसमेत गरेका थिए ।
त्यसपछि उनलाई गालीगलौज र भ्रामक प्रचार गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोलीले मंगलबार पक्राउ गरेको थियो ।
तर, एक रात मात्रै हिरासतमा बसेर सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाडेलगत्तै सफलले आफूलाई बाघको रूपमा चित्रित गर्दै बाघ थुन्ने खोर नै नबनेको भन्दै व्यङ्ग्य गरेका हुन् । उनले रवि र बालेन्द्र शाहप्रति कडा टिप्पणीसमेत गरेका छन् ।
सरकारले रवि लामिछानेसहितका आरोपीहरूको मुद्दा फिर्ता लिन चाहेको छ । तर, त्यसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँगै युवराज सफलले सर्वोच्चमा महान्यायाधिवक्ता कार्यालयले मुद्दा फिर्ता लिन चालेको कदमविरुद्ध रिट दायर गरेका छन् ।
