जेन–जी विद्रोहको बेला कारागारबाट फरार, समूह बनाएर लुटपाट (भिडियोसहित)
काठमाडौं । गत भदौ २४ गते जेन–जी विद्रोहको मौका छोपेर कारागारबाट फरार भएका कैदीहरूले समूह नै बनाई संगठित लुटपाट गरेको पाइएको छ ।
प्रहरी परिसर काठमाडौंले मुलपानी क्षेत्रमा बुधबार राति १० जना लुटेराहरूको समूहलाई गोली हानेर पक्राउ गरेर अनुसन्धान गर्दा यस्तो तथ्य बाहिर आएको हो ।
लुटेराहरूको नाइके हुन् – डाँका मुद्दाका प्रतिवादी २३ वर्षीय विनय तामाङ । उनी काभ्रेका भुम्लु गाउँपालिका– ३ का हुन् । जेन–जी विद्रोहको क्रममा कारागारबाट फरार भएका उनी लुटेराहरूको नाइके भएको पाइएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनले नै आफूसहित १० जनाको टोली नै खडा गरेर मुलपानी क्षेत्रमा लुटपाट आतंक मच्चाएको परिसरका एसएसपी रमेश थापाले बताए ।
तामाङकै योजनामा रातको समयमा उक्त समूहले सुनका गरगहना, नगद, मोबाइल लुटपाट गर्ने गरेको पाइएको थापा बताउँछन् ।
पक्राउ पर्नेमा सिन्धुलीको मरिण गाउँपालिका–५ का २४ वर्षीय आयन माझी, मरिण– ७ का ३२ वर्षीय सविन माझी, खोटाङ ज्वलेर्समा काम गर्ने मोरङ पथरीका २३ वर्षीय मनिस रमाइली, काभ्रेको चौरी देउराली–१ का २९ वर्षीय पेमा तामाङ, चौरी देउराली–१ कै २० वर्षीय सलोन तामाङ, काभ्रेको भुम्लु–१ का १८ वर्षीय राजीव भण्डारी, रामेछापको दोरम्बा–८ का ३२ वर्षीय विशाल तामाङ, खोटाङ घर भएका सुनचाँदी कालिगढ २८ वर्षीय विदूर विश्वकर्मा र सिन्धुपाल्चोकको लिसंखुपाखर–३ का २९ वर्षीय फुर्वा तामाङ रहेका छन् ।
लुटेराहरूको नाइके भनिएका तामाङ घाइते छन् । एसएसपी थापाका अनुसार मुलपानी क्रिकेट मैदान नजिकै प्रहरीले चेकिङ पोस्ट थापेको र प्रहरीले रोक्न खोज्दा उल्टै प्रहरीलाई पेल्दै मोटरसाइकल अघि बढाएको थिए ।
त्यस क्रममा प्रहरीसँग धक्कामुक्की गरेको र जवाफी कारबाही गर्दा विनयको खुट्टामा गोली लागेको एसएसपी थापाको भनाइ छ ।
उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको थापाले बताए ।
