ओलीको प्रश्न : सबैले ‘बा’ भने भनेर रिसले मान्छे मार्ने परिस्थिति बनाए, अनि केपी ओली हत्यारा हुने ? (भिडियो)
काठमाडौं । जेन–जी विद्रोहको बेला प्रधानमन्त्री रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबैले ‘बा’ भने भनेर रिसले केही मान्छे मार्ने परिस्थिति बनाउँदै उल्टै आफूलाई हत्याराको आरोप लगाएको बताएका छन् ।
आफूले विद्रोहको पहिलो दिन जेन–जीहरूलाई गोली हान्न आदेश नदिएको तर्क गर्दै उनले प्रधानमन्त्री जतिखेर पनि त्यति सुलभ सम्पर्कमा नहुने बताए ।
‘सबैले ‘बा’ भने भन्ने रिसले यिनीहरूले केही मान्छे मार्ने परिस्थिति बनाए अनि ऊ चाहिँ हत्यारा हो, आगो लगाएर मार्ने उनीहरू अनि हत्यारा हुने केपी ओली ? केपी ओली हत्यारा !’ उनले भने, ‘अप्ठ्यारो स्थिति भएपछि प्रहरीले सोध्न थाल्छ, प्रधानमन्त्री खोज्न थाल्छ ? प्रधानमन्त्री त्यस्तो सुलभ सम्पर्कमा हुन्छन् ? जतिखेर पनि सम्पर्क हुने हुन्छ ? मान्छेहरु अलिक भ्रममा पनि परेको छ ।’
उनले संसद् भवनमा आगो लगाउन जाँदा प्रहरीमाथि हमला भएको र जवाफमा गोली चलाउँदा १९ जनाको मृत्यु भएको थाहा पाएको बताए ।
‘संसद भवनमा आगो लगाउन गए अरे, पुलिसमाथि हमला भयो अरे, पुलिसले गोली चलायो अरे १९ जना मरे अरे मैले सुनेको हुँ प्रधानमन्त्री हुँदा,’ उनले भने ।
संसदीय प्रणालीमा प्रधानमन्त्री कार्यकारी हुने भएकाले प्रधानमन्त्री ओलीको जेन–जी विद्रोहको पहिलो दिन १९ जना मारिनुमा सिधा आदेश भएको कतिपयले तर्क गरिरहेका छन् ।
फिल्डमा खटिने प्रहरीले बिना आदेश गोली नचलाउने भन्दै उनीहरूले प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायत संरचनागत प्रणालीमा रहेका अधिकारीहरू जिम्मेवार रहेको बताउने गरेका छन् ।
यस्तोमा ओलीले आफूले आदेश नदिएको भन्दै स्पष्टीकरण दिएका हुन् ।
