`

के हो पश्चिमी विश्वमा तहल्का मच्चाइरहेको एप्स्टिन फाइल्स?

कृपा काफ्ले २३ माघ २०८२ १६:०७
अपराध

३० लाख पृष्ठका अभिलेख, एक लाख ८० हजार फोटो र दुई हजार भन्दा धेरै भिडियोहरूले यतिबेला युरोप र अमेरिकामा तहल्का मच्चाइरहेको छ, जसले पश्चिमी दुनियाँका सबैभन्दा धनी र शक्तिशाली व्यक्तिहरूलाई विवादमा तानेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि पूर्वराष्ट्रपति बिल क्लिन्टनसम्म, बेलायती राजपरिवारका सदस्य प्रिन्स एन्ड्र्युदेखि सबैभन्दा धनी व्यक्तिहरू इलन मस्क र बिल गेट्ससम्म विवादमा तानिएका छन् । यसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय धनाढ्य अनिल अम्बानीसम्मको नाम तानिएको छ ।

एप्टिन फाइल्स नाम दिइएको यो सनसनपूर्ण खुलासाको केन्द्रमा छन्, जेफ्री एप्सटिन । एप्सटिनले सन् २०१९मा पक्राउ परेपछि जेलमा नै आत्महत्या गरेको खबर सार्वजनिक भए पनि उनको मृत्यु रहस्यमय रहेको बताइन्छ । अमेरिकाको न्याय मन्त्रालयले गएको शुक्रबार यो प्रकरणसँग सम्बन्धित ३० लाख पृष्ठका अभिलेख, लगभग १,८०,००० तस्वीर र २,००० भन्दा बढी भिडियोहरू सार्वजनिक गरेको थियो । यसमा अदालतका कागजात, इमेल, खोजी वारेन्ट, उडान अभिलेख र अन्य अनुसन्धान सामग्रीहरू समावेश छन्।

को हुन् जेफ्री एप्सटिन?

सन् १९५३ मा न्यूयोर्क, संयुक्त राज्य अमेरिकामा जन्मिएका जेफ्री एप्स्टिन वित्तीय क्षेत्रमा धनी र प्रभावशाली व्यक्तिका रूपमा परिचित भए। प्रारम्भिक जीवनमा उनी गणितमा प्रतिभाशाली थिए र केही समय म्यानह्याटनको डाल्टन स्कूलमा गणित पढाए। तर, १९७६ पछि उनी वित्तीय क्षेत्रमा लागे र बियर स्टिअर्न्स बैंकमा काम सुरु गरे। केही वर्षमै साझेदार बनेका एप्स्टिनले पछि आफ्नै वित्तीय कम्पनी खोले, जसलाई उनले द फाइनान्सियल ट्रस्ट नाम दिए। यो व्यवसायिक यात्राले उनलाई धनी र शक्तिशाली मानिसहरूसँग जोड्ने काम गर्यो।

सन् १९९० दशकको सुरूआत र २००० दशकमा एप्स्टिनले क्यारिबियनको लिटल सेन्ट जेम्स नामक टापु किनेर आफ्नो निजी मनोरञ्जनको लागि प्रयोग गर्न थाले। एप्सटिन फाइल्स प्रकरण यही टापुसँग सम्बन्धित कर्तुतहरूको पर्दाफास गर्ने दस्तावेज हो ।

यो टापु पूर्ण रूपमा उनको नियन्त्रणमा थियो, जहाँ सार्वजनिक पहुँच थिएन र सरकारी निगरानी न्यून थियो। यही कारण यो टापु पछि “एप्स्टिन आइल्याण्ड” भनेर कुख्यात बन्यो। अदालतका कागजात र पीडितहरूको बयान अनुसार, यही टापुमा नाबालिग केटीहरूलाई ल्याएर यौन शोषण गरिन्थ्यो।

सन् २००६ मा पहिलोपटक उनलाई बालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा पक्राउ गरिएको थियो र १८ महिना कैद सजाय भएको थियो। तर, एक विवादास्पद प्रावधानका आधारमा हरेक दिन १६ घन्टासम्म कामका लागि जेलबाहिर जान दिने व्यवस्था गरियो। राजनीतिक पहुँचकै कारण उनले त्यस्तो सुविधा पाएका थिए। अर्थात, थुनामा रहे पनि उनले त्यहाँ ८ घण्टा मात्रै बिताउनु पर्थ्यो ।

उनी १८ महिनाको सजाय पूरा नगरी १३ महिनामै रिहा भए। त्यसपछि पनि आफ्नो धन्दा जारी राखेको भन्ने गरिन्छ । सन् २०१९ मा एप्स्टिन फेडरल यौन तस्करीको आरोपमा पुनः पक्राउ परे। उनलाई म्यानह्याटन जेलमा राखिएका अवस्थामा १० अगस्ट २०१९ मा आत्महत्या गरे।

आधिकारिक रिपोर्टले उनको मृत्यु आत्महत्या भएको पुष्टि गरेको भए पनि, जेलको सुरक्षा कमजोरी, सिसिटिभी फुटेजको कटौती र निगरानी अभावले भएको धेरैको शंका छ। कतिपयले एपस्टिनको मृत्यु आत्महत्या नभएर हत्या हो भन्ने दाबी गरेका छन्। यस्तो दाबी गर्नेमा ट्रम्पका समर्थक नै थिए। उनीहरू यहाँसम्म भन्थे डेमोक्र्याटिक पार्टीमा आबद्ध शक्तिशाली व्यक्तिहरू बाल वेश्यावृत्तिमा संलग्न छन् ।

एप्स्टिनको कर्तुतमा जोडिएका संसारका धनाढ्य र शक्तिशालीहरू

एप्स्टिनकी नजिककी सहयोगी तथा प्रेमिका घिस्लेन म्याक्सवेल अहिले जेलमै छिन्। म्याक्सवेल एप्स्टिनको नेटवर्कमा प्रमुख भूमिकामा रहेर किशोरीहरू खोज्ने तथा अपराध व्यवस्थापनमा सहयोग पुर्‍याउने कार्यमा संलग्न रहेको अदालतले ठहर गरेको छ। उनी सन् २०२१ मा दोषी ठहर भइन् । उनलाई २० वर्ष कैद सजाय सुनाइएको छ। अनुसन्धान र अदालतमा पेश भएका प्रमाणहरू तथा केही पीडितका बयानअनुसार, एप्स्टिन र म्याक्सवेलले किशोरीहरूलाई पैसा, अवसर र भविष्यको वाचा गरेर आफ्नो नियन्त्रणमा ल्याउने र यौन सम्बन्धमा संलग्न गराउने प्रयास गरेका थिए। ती किशोरीहरूलाई एप्स्टिनको निजी टापु, फ्लोरिडा र न्यूयोर्कस्थित उनका घरहरूमा लगेर यौन शोषण गरिएको प्रमाण पनि अदालतमा प्रस्तुत गरिएको थियो।

एप्स्टिनको अपराध प्रणालीमा धेरै शक्तिशाली व्यक्तिहरूको नाम जोडिएको छ। अमेरिकी दस्तावेज र उडान अभिलेखहरू अनुसार, पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन, बेलायती राजपरिवारका सदस्य प्रिन्स एन्ड्र्यू, इजरायलका पूर्वप्रधामन्त्री एहुद बाराक र भारतीय प्रधामन्त्री नरेन्द्र मोदी जस्ता शक्तिशाली व्यक्तिहरू एप्टिनको नीजी टापु पुगेको वा संवादमा  रहेको खुलासा भएको छ । यस्तै,  टेस्ला/स्पेस एक्सका संस्थापक एलोन मस्क, माइक्रोसफ्टका सह संस्थापक बिल गेट्स, भारतका भारतीय व्यवसायी अनिल अम्बानीजस्ता धनाढ्य मानिसहरू छन् । शक्तिशाली र धनाढ्यमात्रै होइन, नोम चोम्स्की र क्यानडियन भौतिकशास्त्री लरेन्स क्रौसजस्ता विद्वानहरू पनि एप्सटिनसँग उनको गोप्य अपराधको बारेमा संवादमा रहेको देखिन्छ ।

२००२ मा न्यूयोर्क म्यागेजिनसँग एप्स्टिनबारे लेखेको लामो लेखमा ट्रम्पले भनेका थिए, ‘मैले जेफ्रीलाई १५ वर्षदेखि चिनेको छु। धेरै गज्जबका मान्छे, उनीसँग बस्दा धेरै रमाइलो हुन्छ। सुन्दर महिलाहरू मलाई जति मन पर्छ, उनलाई पनि त्यति नै मन पर्छ। तीमध्ये धेरैजसो कम उमेरका छन्। यसमा कुनै शंका छैन, जेफ्री आफ्नो सामाजिक जीवनको आनन्द लिन्छन्।’

‘द न्यूयोर्क टाइम्स’का अनुसार ट्रम्पले एपस्टिनको निजी विमानमा सातपटक यात्रा गरेका थिए। ट्रम्पले आफूले ती यात्रामा एपस्टिनको टापु कहिल्यै नगएको र कुनै अवाञ्छित गतिविधिमा संलग्न नभएको बताएका छन्।

एप्स्टिनको सन् २०१९ मा मृत्यु भएपछि उनका सम्पत्तिहरू कानुनी प्रक्रियाअन्तर्गत ल्याइए। सन् २०२२ मा एप्स्टिनको सम्पत्ति व्यवस्थापन पक्ष र यूएस भर्जिन टापुबीच करिब १०५ मिलियन डलरको समझौता भएको थियो। उक्त समझौताअनुसार लिटिल सेन्ट जेम्स टापु सहित एप्स्टिनका विभिन्न सम्पत्तिहरूको बिक्री तथा प्राप्त रकम यौन शोषणका पीडितहरूको क्षतिपूर्ति, सहयोग कार्यक्रम र सरकारी ट्रस्टमार्फत प्रयोग गरिएको छ। यद्यपि एप्स्टिनले अदालतबाट अन्तिम सजाय नपाउँदै जेलमै आत्महत्या गरेकाले, यस प्रकरणसँग जोडिएका धेरै कानुनी र नैतिक प्रश्नहरू अझै पूर्ण रूपमा स्पष्ट हुन सकेका छैनन्।

गत शुक्रबार न्याय मन्त्रालयले ३० लाख पृष्ठ सार्वजनिक गर्नुअघि पनि करिब ५ लाख पृष्ठ जति अभिलेख सार्वजनिक भइसकेको थियो । तर, अझै करिब ३० लाख पृष्ठ अझै पनि न्याय मन्त्रालयले सार्वजनिक गरेको छैन । पीडितहरूको जानकारी लगायतका संवेदनशील विषय रहेकाले सार्वजनिक गर्न नसकिने न्याय मन्त्रालयले बताइरहेको छ । तर, दस्तावेज सार्वजनिक गर्न मन्त्रालयमाथि दबाव बढिरहेको छ ।

एप्स्टिनको मृत्युपछि पनि उनका गतिविधिहरू, टापु र शक्तिशाली व्यक्तिहरूसँगको सम्बन्धबारे बहस जारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *