`

१ खर्ब १९ अर्ब विकास बजेट रोक्यो सरकारले, यस्ता रहेछन् कारण

Nepal One HD २७ माघ २०८२ १५:२४
अर्थ समाचार
सरकारले चालु आर्थिक वर्षको विनियोजित बजेटमार्फत बिकास बजेटतर्फको १ खर्ब १९ अर्ब बजेट रोकेको स्वीकारेको छ ।
मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षा प्रतिवेदन सार्वजनिक गरेका अर्थमन्त्री डा.रामेश्वर खनालले पूर्व तयारी नभएका र अनुत्पादक साना आयोजनाहरुमा विनियोजित १ खर्ब १९ अर्ब ५३ करोड ६५ लाख रुपैयाँ बजेट मन्त्रिपरिषद्कै निर्णयमा स्थगन गरिएको बताए ।

स्रोत व्यवस्थापनको दबाबकाबीच सरकारमाथि थप निर्वाचन खर्च जुटाउने सकस पर्दा यस्तो बजेट कटौती भएको अर्थमन्त्री खनालले बताए ।

उसो त विभिन्न खर्च कटौतीसँगै अरु स्रोत व्यवस्थापन गर्दै मन्त्रालय २१ फागुनमा हुने निर्वाचनकै लागि २० अर्ब रुपैयाँबढी स्रोत सुनिश्चित गरिसकेको उनले बताए ।

यद्यपि, १ खर्ब १९ अर्ब बिकास बजेट रोक्ने निर्णय भएपनि सरकारले पछिल्लो समय खरीद प्रक्रिया सुरु भई सकेका र विषयगत मन्त्रालयबाट औचित्य पुष्ट्याईसहित फुकुवाका लागि अनुरोध भएको आधारमा आवश्यक विकास परियोजनाका लागि ४२ अर्ब २८ करोड ३४ लाख रुपैयाँ बजेट खर्च फुकुवा गरिएको अर्थमन्त्री खनालले जानकारी दिए।

चालु आर्थिक वर्षका लागि कूल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ अनुमानित बजेट विनियोजन गरेको सरकारले पुँजीगत खर्च (विकास बजेट) तर्फ ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ बजेट छुट्याएको थियो ।

खासगरी विकास निर्माणमा जाने यस्तो बजेट कटौती हुँदा यसको नकारात्मक असर आर्थिक वृद्धिमा पर्ने निश्चित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *