सार्वजनिक बहस लोकतन्त्रमा पारदर्शिताको अभ्यास हो: ओली
दमक । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उम्मेदवार बिच हुने सार्वजनिक बहस लोकतन्त्रको पारदर्शिताको अभ्यास भएको बताएका छन्।
उनले हिजो आयोजित झापा-५ का उम्मेदवारहरूबिचको पब्लिक डिबेट कार्यक्रममा सहभागी हुँदै सार्वजनिक प्रश्नहरूको आमनेसामने जवाफ दिनु लोकतान्त्रिक संस्कृतिको महत्त्वपूर्ण पक्ष भएको धारणा व्यक्त गरे । “उम्मेदवारहरूले एकै ठाउँमा बसेर सार्वजनिक प्रश्नहरूको जवाफ दिनु नै लोकतन्त्रको पारदर्शिता हो,” उनले उल्लेख गरे।
उनका अनुसार चुनाव नागरिकले प्रतिनिधिलाई विश्वास सुम्पिने पर्व भएकाले उम्मेदवार नागरिकबाट टाढा रहने, वास्तविक अनुहार लुकाउने र तयार पारिएका सामग्रीमार्फत मतदातालाई प्रभावित पार्ने प्रवृत्ति उपयुक्त होइन। उनले प्रश्नबाट भाग्ने वा छलेर आफूलाई राम्रो देखाउने राजनीति आफूहरूले नगरेको बताए। “हामीले आफूमाथि उठेका प्रश्नहरूको उत्तर दिँदै आएका छौँ, आलोचना र विरोध पनि सुन्दै आएका छौँ,” उनले भने, “कतिपय विषयमा आत्मालोचना गरेर सुधार गर्ने प्रयास पनि गरेका छौँ।”
उनले पब्लिक डिबेट आयोजना गर्ने आयोजक, सहभागी उम्मेदवार तथा उपस्थित नागरिकप्रति आभार व्यक्त गरे। आगामी दिनमा पनि नागरिकका प्रश्नको जवाफ दिन तयार रहने प्रतिबद्धता व्यक्त गर्दै उनले मतदातालाई सचेत रूपमा निर्णय लिन आग्रह गरे। ‘प्रश्न सोधौँ, एमाले रोजौँ,’ भन्ने सन्देशसहित उनले आफू नागरिकको साथमै रहने बताएका छन्।
