अन्य दलजस्तो बाहिरबाट कार्यकर्ता ल्याएर कार्यक्रम गर्ने शैली हाम्रो छैन – महेश बस्नेत
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले घरदैलो अभियान उत्साहपूर्ण देखिएको बताएका छन्। भक्तपुर जिल्ला क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका बस्नेतले बुधबार सूर्यविनायक नगरपालिका–३ स्थित बालकोटमा घरदैलोमा राम्रो उपस्थिति देखिएकोले निर्वाचनमा सकारात्मक परिणाम आउने संकेत दिएको बताए ।
उनले अन्य दलजस्तो बाहिरबाट कार्यकर्ता ल्याएर कार्यक्रम गर्ने शैली आफूहरुको नरहेको बताउदै निर्वाचनमा कम्तीमा ३० हजार मत आउने अपेक्षा रहेको बताए ।
उनले भने, ‘हामीले सुरु गरेको घरदैलो अभियान उत्साहपूर्ण देखिएको छ। हामी जुन वडामा पुग्छौँ, त्यहीँका स्थानीय कार्यकर्तालाई परिचालन गरेका छौँ। अन्य दलजस्तो बाहिरबाट कार्यकर्ता ल्याएर कार्यक्रम गर्ने शैली हाम्रो छैन।’
विगतमा बालकोट क्षेत्र एमालेका लागि कमजोर मानिने गरेको उल्लेख गर्दै बस्नेतले पछिल्लो समय विकास निर्माणका कामले पार्टीको प्रभाव बढेको दाबी गरे।
