`

चुनावको मुखमा रास्वपमा विद्रोहको लहर: धमाधम पार्टी छोड्दै नेताहरू

Nepal One HD ८ फागुन २०८२ १८:४६
बिशेष

काठमाडौं ।रास्वपाका शीर्ष नेताहरूले फागुन २१को चुनावमा बहुमत ल्याउने दाबी गरिरहँदा पार्टीमा भने निरन्तर पहिरो गइरहेको छ । सु-शासन र पारदर्शिताको मुद्धा उठाउँदै बनेको रास्वपामा यिनै विषयलाई कारण बनाएर पार्टी छोड्नेको क्रम बढिरहेको छ ।

केही दिन अघि मधेस प्रदेशकी संस्थापक अध्यक्ष ममता शर्माले पार्टीबाट राजीनामा दिइन्। उनले नेतृत्वले मधेसको भावना नबुझेको, उम्मेदवार चयनमा आर्थिक अनियमितता भएको र इमानदार कार्यकर्तालाई नजरअन्दाज गरेको आरोप लगाइन्। शर्मा नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन्।

शर्मासँगै बागमती प्रदेश उपसभापति दिनेश हुमागाईंले पनि सात बुँदे असन्तुष्टि सार्वजनिक गर्दै राजीनामा दिए। उनले नेतृत्वले निष्ठावान कार्यकर्तालाई उपेक्षा गरेको र पैसा खर्च गर्न सक्नेलाई मात्रै टिकट दिएको आरोप लगाएका छन्। हुमागाईंले भनेका छन्, ‘सभापतिको सहकारी प्रकरणले पार्टीको नैतिक धरातल नै समाप्त भएको छ।’

यसलगत्तै नेता प्रणय शमशेर राणाले पार्टी छोडे। उनले ‘प्राइमरी’ चुनाव प्रणालीलाई आर्थिक बार्गेनिङको थलो भन्दै नेतृत्वले आफ्नो अनुकूल उम्मेदवार जिताउन धाँधली गरेको आरोप समेत लगाए। इमानदार कार्यकर्तालाई पाखा लगाइएर नेताका नजिकका मान्छेलाई प्राथमिकता दिने कुरा सामान्य भएको उनको आरोप छ । राणा २०७९को चुनावमा काठमाडौ क्षेत्र. नं. ५का उम्मेदवार पनि थिए ।

पार्टी चुनावको तयारीमा होमिएकै बेला पार्टीकी संस्थापक सदस्य खेमकुमारी भुर्तेल ‘उर्मिला’ले पनि पार्टी  परित्याग गरिन्। उनले भनिन्, ‘पार्टी अब आम जनताको होइन, केही स्वार्थी समूहको नियन्त्रणमा छ।’ उनले नेतृत्वले निष्ठावान कार्यकर्तालाई उपेक्षा गर्दै जिम्मेवारी पहुँचको आधारमा बाँडेको आरोप लगाइन्।

चुनाव नजिकिँदै जाँदा रुपन्देहीका नेता श्री कुँवरले पनि पार्टीको निर्णय प्रक्रिया केही सीमित व्यक्तिको हातमा मात्र केन्द्रित भएको भन्दै राजीनामा दिए। उनी भन्छन्, ‘पार्टीमा आन्तरिक लोकतन्त्र र कार्यकर्ताको मूल्यांकन गर्ने प्रणाली छैन।’

यस्तै हेटौंडाका नेता नवराज पहाडीले गुटबन्दी र केन्द्रमुखी प्रवृत्तिलाई अस्वीकार गर्दै पार्टी छोडे। उनका अनुसार नेतृत्वले बाहिर देखाउने नयाँपन र भित्रको वास्तविकता फरक छ, पार्टीले तल्लो तहका कार्यकर्तालाई मात्र प्रयोग गर्दै आएको छ।

पार्टी छाड्ने कतिपय नेताहरूले टिकट वितरणमा पनि असन्तुष्टी जनाएका छन् । संगठनमा काम गरेका र इमान्दार व्यक्तिलाई पन्छाएर पार्टी बाहिरका व्यक्तिलाई सिधै उम्मेदवार बनाउँदा संगठनमा काम गरेका नेता कार्यकर्ता निराश भएका हुन् । यसले कतिपय ठाउँमा चुनाव आए पनि पार्टीको संगठन धेरै सक्रिय भइरहेको छैन ।

खासगरी, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग एकता गरेपछि पार्टी र राजनीतिमै नभएका व्यक्तिहरूले टिकट पाएको भन्दै पार्टीभित्र असन्तुष्टी बढेको थियो । यसबाहेक टिकट वितरणमा आर्थिक चलखेल भएको आरोप पनि लागिरहेको छ ।

चुनावको माहोल बन्नु अघि पनि पार्टीभित्र नेतृत्वको शैली र विधिको कुरालाई लिएर पार्टी छोड्ने क्रम चलिरहेको थियो । जेनजी विद्रोह लगत्तै पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी थिइन् । पार्टी छोडेको घोषणा गर्दै उनले प्रश्न गरेकी थिइन्, ‘गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने ?,’ उनले भनेकी छन् , ‘पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने ?’

देशभन्दा माथि पार्टी र पार्टी भन्दा माथि नेतालाई राखेको आरोप लगाउँदै उनले लेखेकी थिइन्, ‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ।’

सुमनाले पार्टी छोडेको केही समयपछि वैचारिक खम्बा मानिने सन्तोष परियारले सबै जिम्मेवारीबाट राजीनामा दिए। उनले नेतृत्वको अस्पष्ट कार्यशैली र राजनीतिक दृष्टिकोणको अभाव देखेर पार्टी छोडेका हुन्। परियारले भनेका छन्, ‘रास्वपा अब वैकल्पिक शक्ति होइन, केवल एउटा भिडमा परिणत भएको छ।’ उनी हाल प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष मण्डलमा छन् । उनी प्रलोपाबाट समानुपातिकतर्पको उम्मेदवार पनि छन् ।

त्यसअघि पूर्व डिआइजी रमेश खरेलले पार्टी छोडेका थिए । अहिले उनी काभ्रेपलाञ्चोकमा नेपाली कांग्रेसका नेतासँग देखिएका छन् । उनले नेतृत्वको दोहोरो चरित्र र पारदर्शिता अभाव देखेपछि अलग हुनुपरेको बताएका थिए। सुशासनको कुरा गर्ने पार्टीले व्यवहारमा पुराना दलका विकृतिहरू अपनाएको उनको आरोप छ ।

विधि, पारदर्शिता तथा सुशासन रास्वपाको चुनावी नारा हुन् । तर, पार्टी छोड्ने नेताहरूले पार्टी नेतृत्वमाथि यिनै विषयमा प्रश्न उठाइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *