फिन एलेनको किर्तिमानी शतकसँगै न्युजिल्यान्ड फाइनलमा, दक्षिण अफ्रिका ९ विकेटले पराजित
काठमाडौं। आइसिसि पुरुष टी-२० विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित पार्दै न्युजिल्यान्ड फाइनलमा पुगेको छ। कोलकाताको ईडेन गार्डेनमा खेलिएको यो खेलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकाले दिएको १७० रनको लक्ष्य मात्र १२.५ ओभरमा मात्रै एक विकेट गुमाएर पुरा गर्यो ।
सुरुवाती ब्याट्समान फिन एलेनले ३३ बलमा अपराजित एक सय रन पुरा गरे । यससँगै एलेनले टी-२० विश्वकपमा सर्वाधिक छिटो शतक बनाउने किर्तिमान पनि आफ्नो नाममा गरेका छन् । यसअघि सन् २०१६को विश्वकपमा इंग्ल्याण्ड विरूद्ध ४७ बलमा शतक पुरा गर्दै क्रिश गेलले किर्तिमान आफ्नो नाममा गरेका थिए । न्युजिल्याण्डलाई फाइनल पुर्याउने क्रममा एलेनले गेलको किर्तिमान पनि तोडेका हुन् ।
अविजित रहेर ३०३.०३ को स्ट्राइक रेटमा शतक पुरा गर्ने क्रममा एलेनले १० चौका र ८ छक्का प्रहार गरे । टिम साइफर्टले पनि ३३ बलमा ५८ रन खेले र दुवैले मिलेर पहिलो विकेटमा ११७ रनको साझेदारी बाँधे । साइफर्ट आउटभएपछि रचिन रवीन्द्रले एलेनसँग मिलेर बाँकी रन पूरा गरे।
यसअघि दक्षिण अफ्रिकाले टस हारेर ब्याटिङ गर्दा लगातार विकेट गुमाउँदै कमजोर सुरूवात गरेको थियो । दोस्रो ओभरमा कोल म्याककन्चीले क्विन्टन डि कक र रायन रिकेल्टनलाई एकै ओभरमा आउट पारे । कप्तान मार्कारम र डेवाल्ड ब्रेभिसले केही स्थिरता दिने प्रयास गरे, तर रचिन रवीन्द्रले दुवैलाई पवेलियन फर्काए । अन्तमा मार्को यान्सेनले ३० बलमा ५५ रन ठोकेर स्कोरलाई सम्मानजनक ठाउँमा पुर्याए तर १६९/८ पर्याप्त थिएन ।
बलिङमामा न्युजिल्यान्डका तर्फबाट म्याट हेन्री, रवीन्द्र र म्याककन्ची सबैले २–२ विकेट लिए, र दक्षिण अफ्रिकालाई कुनै पनि ठूलो साझेदारी बनाउन दिएनन् ।
यो जितसँगै न्युजिल्यान्ड अहमदाबादको फाइनलमा पुगेको छ, जहाँ उनीहरूको सामना भारत र इंग्ल्यान्डबीचको दोस्रो सेमिफाइनलको विजेतासँग हुनेछ । गत विश्वकपको फाइनलमा भारतसँग हृदयविदारक पराजय व्यहोरेको दक्षिण अफ्रिकाका लागि भने यो बिदाइ झनै पीडादायी बन्यो ।
