चुनावी सरकारले सुशासनको धज्जी उडाएको प्रभू शाहको आरोप, दुवै निर्णय फिर्ता गर्न माग
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सरकारका दुई विवादास्पद निर्णयको कडा आलोचना गर्दै ती निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।
राष्ट्रिय सभामा ओमप्रकाश अर्यालको नाम सिफारिस गर्ने र आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गर्ने निर्णयलाई उनले सुशासनविरुद्धको कदम भनी निन्दा गरेका छन्। जेनजी विद्रोहको पृष्ठभूमिमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले आफ्नो विदाइको बेलामा आसेपासेलाई राज्यका महत्त्वपूर्ण पदमा नियुक्त गर्नु अनुचित रहेको उनको भनाइ छ।
सामाजिक सञ्जालमा अध्यक्ष साहले लेखे, ‘निर्वाचन गराउने प्रधान दायित्व बोकेको सरकारले निर्वाचन सम्पन्न गरेर अब बहिर्गमनको बेलामा भने जेनजी विद्रोहको मूल मर्ममाथि नै प्रहार हुने गरि सुशासनलाई धज्जी उडाउँदै आफ्ना आसेपासेलाई राजनीतिक नियुक्ति दिलाउनु निन्दनीय छ । निर्वाचन गराउने जिम्मेवारी पाएका गृहमन्त्री ओमप्रकाश अर्याल सत्ताबाहिर बस्न नचाहेर आफूसम्मिलित मन्त्रिपरिषद्बाट राष्ट्रिय सभामा मनोनित हुन सिफारिस हुनु पनि अर्को लाजको विषय हो ।’
प्रधानमन्त्री कार्कीले आफ्नै पीए आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गर्ने निर्णयलाई पनि साहले पारदर्शिताको उपहास भनी आलोचना गरे।
यसका साथै उनले जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग राखेका छन्। उनले थपे, ‘सरकार प्रमुख त्यो प्रतिवेदन सार्वजनिक गर्नुको साटो आफ्ना आसेपासेलाई राज्यका निकायमा भर्ती गर्न व्यस्त हुनु लज्जाको विषय हो । सुशीला कार्कीलाई यी दुवै निर्णय फिर्ता लिन र तत्काल जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक आग्रह गर्दछु ।’
