डा. स्वर्णिम वाग्ले पूर्वाग्रही, २००७ सालको क्रान्तिको श्रेय दिएनन् कांग्रेसलाई (भिडियो)
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्ले २००७ सालको क्रान्ति नेपाली कांग्रेसको नेतृत्वमा भएको भन्न हिच्किचाएका छन् । उनले उक्त क्रान्ति प्रजा परिषद्सहित केही समूहको बलमा भएको बताए ।
‘सात सालको आन्दोलन प्रजा परिषद्लगायत अन्य समूहहरूले सुरु गर्नुभयो । राणाशासन धराययी बन्यो,’ मङ्गलबारदेखि रास्वपा सांसदहरूका लागि आयाेजित अभिमुखीकरणमा उनले काङ्ग्रेसलाई आन्दाेलनकाे श्रेय नदिइ प्रजा परिषद्लाई दिए ।
नेपालको पहिलो दल प्रजा परिषद् हो । सोही दलले राणाशासनविरुद्ध देशमा विद्रोह थालेको थियो । तर, राणाशासनविरुद्ध सशस्त्र क्रान्ति भने नेपाली कांग्रेसले गरेको थियो ।
२००७ सालको कात्तिक २१ गते सशस्त्र क्रान्तिको घोषणा कांग्रेसले गरेको थियो । मुक्ति सेना तयार गर्यो । मातृकाप्रसाद कोइराला क्रान्तिका मुख्य कमान्डर थिए ।
भीषण क्रान्तिलाई तत्कालीन राणा सरकारले थेग्न सकेन । त्यहीबीच राजा त्रिभुवन नेपाल दरबार छाडेर दिल्ली पुगे । अढाई वर्षे ज्ञानेन्द्र शाहलाई राजा बनाइए ।
कांग्रेस नेतृत्वको सशस्त्र क्रान्तिलाई राणा सरकारले थेग्न सकेन । अन्ततः राणाप्रधानमन्त्री मोहन शम्शेरले घुँडा टेके । राजा, राणा र कांग्रेसबीच त्रिपक्षीय दिल्ली सम्झौता भयो । ७ फागुन २००७ सालमा नेपालमा राणाशासनको औपचारिक अन्त्य भयो । प्रजातन्त्र स्थापना भयो ।
कांग्रेसले गरेको सशस्त्र क्रान्तिको पहिलो शहदी थिरबम मल्ल भए । यसरी कांग्रेसको मूल नेतृत्वमा भएको २००७ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलन हाल रास्वपा सांसद रहेका डा. स्वर्णिम वाग्लेले प्रजा परिषद्लगायत केही समूह भनेर कांग्रेसको नाम उच्चारण गर्न हिच्किचाएका हुन् ।
डा. वाग्ले ती नेता हुन्, जो अढाई वर्षअघिसम्म कांग्रेस थिए । कांग्रेसबाटै उनी राष्ट्रिय योजना आयोगको सदस्य हुँदै उपाध्यक्षसम्म भए ।
दोस्रोपटक उपाध्यक्ष हुन उनी चाहन्थे । तर, कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले अर्का अर्थशास्त्री विश्व पौडेलेलाई उपाध्यक्ष बनाए, जाे अहिले नेपाल राष्ट्र बैँकका गभर्नर छन् ।
यसपछि वाग्ले रुष्ट भए । पार्टी नै छाडेर रास्वपा पुगे । यतिबेला त उनी २००७ सालको क्रान्ति कांग्रेस नेतृत्वमा भएको भन्नसमेत हिच्किचाउने अवस्थामा आइपुगेका छन् ।
