आधा सिलिण्डर ग्यास पाउँदा उपभोक्ताहरू हर्षित
काठमाडौं । उपभोक्ताहरुले आधा सिलिण्डर एलपी (खाना पकाउने) ग्याँस बिक्री वितरण गर्दा आफूहरुले राहत पाएको बताएका छन् ।
मंगलबार काठमाडौंको टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा ग्यास लिन पुगेका उपभोक्ताहरुले संकटमा राहत पाएको भन्दै आयल निगमप्रति आभारसमेत व्यक्त गरेका छन् ।
गाह्रो भइरहेको बेला आधा सिलिण्डर भएपनि ग्याँस पाउँदा खुसी लागेको उनीहरुको प्रतिक्रिया थियो ।
एक उपभोक्ताले भने, ‘ग्यास कतै नपाएर यहाँ त्रिपुरेश्वरतिर लिन आएको छु । अब यहाँ आधा पाएकाे छु । ९५५ प्राइज त भइहाल्यो । यस्तै हो । गाह्रो भइरहेकाे छ सबैलाई । त्यही भएर आधा पाए पनि खुसी छु । काम चलाउन भयाे । पछि के हुन्छ । सबैले मिलेर समस्या समाधान गरौँला । समयअनुसार सबै कुरा ठिकै हुन्छ भनेर भन्छु ।’
नजिकको ग्यास डिपोमा १० दिन कुर्दा पनि ग्यास नपाएपछि हैरानी व्यहोरेकी अर्की उपभोक्ताले आधि सिलिण्डर भए पनि उपलब्ध गराएको भन्दै नेपाल आयल निगमप्रति आभार व्यक्त गरे ।
उपभोक्ताहरुले ग्यासको अभावमा आफूहरु भोकभोकै बस्नुपर्ने अवस्था आएको गुनासो पनि गरेका छन् ।
उनले भने , ‘म कलंकी बस्छु । मैले १० दिन भयो खसी बजारमा नाम लेखाएको । तर मेरो चाहिँ कहिल्यै पनि पालो आएन । आज त मेरो तल बस्ने भाइहरुको ग्यासै सकियो । खाना पाकेन उनीहरुको । आज चाहिँ अति भयो भनेर धेरै ठाउँमा फोन गर्दा बल्ल थाहा भयो यहाँ दिइराखेको भनेर । आधार सिलिण्डर भएपनि लिइयो ।’
यता, आयल निगमले भने उपभोक्ताहरुको अभाव पूर्ति हुनेगरि वितरणको काम भइरहेको दाबी गरेको छ ।
निगमका प्रतिनिधि विनोदकुमार वैद्यले उपभोक्ताले रित्तो हात फर्कन नपर्ने गरी वितरणको व्यवस्था मिलाइएको बताए ।
