चिनियाँ राष्ट्रपति सीको किताब जलाइएको घटनामा छानबिन सुरु
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनफिङकाे पुस्तक जलाइएकाे घटनामा माेरङ प्रशासनले छानबिन थालेकाे छ ।
नेपालस्थित चिनियाँ राजदूतावासले परराष्ट्र मन्त्रालयमार्फत चासाे राखेपछि गृह मन्त्रालयले स्थानीय प्रशासनलाई घटनाकाे छानबिन गरेर कारबाही गर्न निर्देशन दिएकाे थियाे । साेहीअनुसार माेरङ प्रशासनले राष्ट्रपति सीको पुस्तक ‘द गभर्मेन्स अफ चाइना’ जलाइएको घटनाबारे छानबिन अघि बढाएको हाे ।
आफ्ना राष्ट्रपति सीकाे पुस्तक जलाइएको विषयलाई चीनले गम्भीर रूपमा लिएको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार घटनाबारे मनमोहन टेक्निकल इन्स्टिच्युटबाट पत्रको जवाफ आइसकेको बताए । प्राप्त जवाफका बारेमा आफूहरूले छलफल गरिरहेको उनले बताए ।
तर, उनले घटनाबारे प्राप्त विवरण हेर्दा निकै कुरा शङ्कास्पद रहेकाे बताए । उनका अनुसार मनमोहन टेक्निकल इन्स्टिच्युटले कलेजमा रहेका अन्य काम नलाग्ने कागजात जलाउने क्रममा सो पुस्तक पनि जलाएको जनाएको छ ।
