जेन-जी प्रतिवेदन : १४ हजार बढी कैदी फरार हुनुमा ‘रवि जिम्मेवार’
काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागाबाट निकालिएपछि देशभरका जेल तोड्दै कैदीबन्दीहरू फरार हुने क्रम सुरु भएको निष्कर्ष निकालेको छ ।
सरकारले सार्वजनिक नगर्दै मिडियामा छ्यापछ्याप्ती बनेको आयोगको प्रतिवेदनमा रवि निकालिएपछि नै जेल तोड्ने र फरार हुने घटना भएको विवरण उल्लेख छ ।
‘भाद्र २४ गते निज रवि लामिछानेलाई छोड्नुपर्ने जिकिर गर्दै प्रदर्शनकारीहरू दिउँसो अन्दाजी १५ः३० बजेतिर नख्खु कारागारको मूल गेट अगाडि जम्मा भई भिड बढ्दै गई सो भिड कारागार परिसरमा प्रवेश गरी रवि लामिछानेलाई छोड्न कारागार प्रशासनलाई दबाब दिन थाले । उक्त भिडले कारागारमा आक्रमण गर्ने डर त्रासले सो कारागारका प्रमुखले रवि लामिछानेको सुरक्षार्थ बन्दी कोठा भित्रबाट झिकी कारागार परिसरको मानसिक अस्पतालमा ल्याए । भिड बढ्न थालेपछि रवि लामिछानेले भिडलाई शान्त रहन पटक–पटक आग्रह गर्दै यस्तो परिवेशमा कारागार र यहाँका कर्मचारीहरूलाई बचाउने मेरो पनि जिम्मेवारी हो भनेपछि प्रहरीले रवि लामिछानेलाई कारगार परिसरभित्रै रहेको भिडसमक्ष प्रस्तुत गरे भन्ने जेलरको आयोगसमक्ष दिएको बयानमा उल्लेख गरेका छन्,’ प्रतिवेदनमा भनिएको छ ।
रविलाई निकालिएपछि देशभरका जेल अशान्त भएको प्रतिवेदनमा उल्लेख छ ।
‘भिडले रवि लामिछानेलाई बाहिर लग्न खोज्दा न्यायिक हिरासतमा बसेकाले कारागार प्रशासनको अनुमतिपत्र नभई बाहिर नजाने भनेपछि निजका समर्थकले सो कारागारका कारागार प्रमुखसँग रवि लामिछानेलाई कारागारबाट बाहिर छोडिएको भन्ने विषयमा आधिकारिक पत्र लिई निज रवि लामिछाने कारागारबाट छुटेको भन्ने आयोगको छानबिनबाट देखिएको छ ।’
