`

इनिशाको सामूूहिक बलात्कारपछि हत्या योजनाबद्ध ! प्रेमीसहित चार जनाविरुद्ध मुद्दा

Nepal One HD १६ चैत २०८२ १४:५९
अपराध

काठमाडौं । इनिशा विकको बलात्कारपछिको हत्या प्रकरण अदालत पुगेको छ । अदालतमा सोमबार दायर भएको आरोपपत्रमा इनिशाको प्रेमी भनिएका किशोरसँगै चार जनालाई प्रतिवादी बनाइएको छ ।
सरकारी वकिल कार्यालय सुर्खेतले इनिशाको हत्या सामूहिक बलात्कारपछि भएको निष्कर्ष निकाल्दै सोहीअनुसार चार जनालाई प्रतिवादी बनाएको जनाएको छ ।
उनीहरूले पूर्वयोजना अनुरुप हत्या गरेको सरकारी वकिलको जिकिर छ ।
तर, प्रहरीले भने इनिशाको प्रेमी मात्रै घटनामा संलग्न रहेको भन्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । कार्यालयले प्रेमी भनिएका ती किशोरले उद्धारका लागि बोलाएको भनिएका बाँकी तीन जनालाई पनि विपक्षी बनाएको हो । इनिशाको मृत्यु सामूहिक बलात्कारको क्रममा गोप्य अंक च्यातिएको र अत्यधिक रक्तश्राप भएर मृत्यु भएको कार्यालयको ठहर छ ।

अभियोगपत्रमा भनिएको छ, ‘प्रकाउ परेका इनिशाका प्रेमी भनिने परिवर्तित नाम ‘वीरेन्द्रनगर प’ र उनीसँगै पक्राउ परेका उनका साथीहरु परिवर्तित नामहरू ‘वीरेन्द्रनगर ध’, ‘न’ र ‘फ’ ले एक आपसमा मिलेर पूर्वयोजना बनाइ गत फागुन २३ गते बिहान वीरेन्द्रनगर नगरपालिका–४ स्थित जनजागरण सामुदायिक वनको जंगलमा इनिशालाई बोलाएर सामुहिक रूपमा जवर्जस्ती करणी गरेको र जबरजस्ती करणीका कारण अत्याधिक रक्तश्राव भई सोही कारण मृतकको मृत्यु भएको देखिँदा जवर्जस्ती करणी गरी ज्यान मारेको (कर्तव्य ज्यान) मुद्दाको वारदात स्थापित हुन आएको छ।’

इनिशा बेहोस भएपछि ‘वीरेन्द्रनगर प’ले अन्य साथीहरुलाई फोन गरी सहयोगको लागी बोलाएको भन्ने बयान दिएपनि सो भनाई अन्य स्वतन्त्र प्रमाणबाट पुष्टी नभएको अभियोगपत्रमा उल्लेख छ।

अभियोगपत्रमा चारै जना वारदात समयमा वारदात स्थलमा उपस्थित भएको र पोष्टमार्टम रिर्पोटबाट पनि बलात्कारपछि हत्या सँगै शरिरको विभिन्न भागमा घाउचोट तथा निलडामहरु देखिएको शव परिक्षण प्रतिवेदनमा उल्लेख भएकाले चारै जना उपर सामूहिक रुपमा जबरजस्ती करणी गरी ज्यान मारेको भनी किटानी जाहेरी समेत परेको’ भन्दै तर्क प्रस्तुत गरिएको छ।

सरकारी वकिल कार्यालयले टिभी क्यामेराको फुटेजबाट मृतक र ‘वीरेन्द्रनगर प’ अलि समय अगाडी र अन्य तीन जना अलि समय पछाडी वारदातस्थलतर्फ गएको देखिएता पनि मौकामा यी चारै जना बालकहरू वारदातस्थलमा उपस्थित  देखिएको तर उनीहरूले उद्दारको कार्य गरेका भन्ने नदेखिएको बताएको छ।

सोही अनुसार कार्यालयले सोमबार जबर्जस्ती करणी गरी ज्यान मारेको (कर्तव्य ज्यान) मुद्धा सम्बन्धमा सुर्खेत जिल्ला अदालत, बाल इजलासमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम अभियोग पत्र दायर गरेको हो ।

गत फागुन २३ गते बिहान साढे ९ बजेको समयमा सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली घरभइ वीरेन्द्रनगर नगरपालिका–१ बस्ने १६ वर्षीय इनिशाको शव फेला परेको थियो ।

सुर्खेतको वीरेन्द्रनगर–४ को जनजागरण सामुदायिक वनमा उनी मृत फेला परेकी थिइन् । इनिशा वीरेन्द्रनगर–६ मा रहेको उषा बाल वाटिका माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन् । बिहान ६ बजे स्कुलमा प्रायोगात्मक परीक्षा दिन भनेर घरबाट निस्किएकी थिइन् ।

इनिशा अचेत अवस्थामा रहेको भेटेपछि स्थानीय तथा प्रहरीले प्रदेश अस्पताल कालागाउँ सुर्खेत पुर्‍याएका थिए । त्यहाँ लगेको केही समयमा चिकित्सकले मृत घोषणा गरे । प्रहरीले बलात्कारपछि हत्या भएको आशंमा उनका प्रेमी १६ वर्षीया किशोरलाई सोही दिननै पक्राउ गरेको थियो ।

आफन्तले इनिशालाई जबर्जस्ती करणी गरेर हत्या गरिएको भन्दै प्रहरीमा प्रेमी भनिएको १६ वर्षीय एक किशोरसहित अन्य तीन जना नाबालक किशोरविरुद्ध जाहेरी दर्ता गरेका थिए । त्यसपछि प्रहरीले गत फागुन २४ गते थप तीन जनालाई नियन्त्रणमा लिइ अनुसन्धान थाल्यो ।

शवको पोष्टमार्टका लागि भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोली प्रदेश अस्पताल सुर्खेतमा पुगेका थिए ।

उक्त पोस्टमार्टम रिपोर्टमा जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको उल्लेख भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको थियो ।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) सुधिरराज शाहीले इनिशाको बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको बताएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *