ओलीलाई अविलम्ब रिहा गर्न बालेनसँग एमाले सांसदहरुको अपील
काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राई ले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली लाई तत्काल रिहा गर्न माग गरेका छन्।
सोमबार प्रधानमन्त्री शाहले कोशी प्रदेशका सांसदहरूसँग गरेको छलफलका क्रममा सांसद राईले उक्त माग राखेका हुन्। प्रधानमन्त्रीले प्रदेशका सांसदहरूलाई आफ्ना क्षेत्रका समस्या र आवश्यकता बुझ्नका लागि बोलाएका थिए।
छलफलका क्रममा धनकुटाबाट निर्वाचित सांसद राईले अध्यक्ष ओलीलाई ‘प्रतिशोध साँधेर पक्राउ गरिएको’ आरोप लगाउँदै तत्काल रिहा गर्नुपर्ने माग गरेका थिए। छलफलमा सहभागी एक सांसदका अनुसार राईले भने, ‘हाम्रो अध्यक्षलाई प्रतिशोधपूर्वक पक्राउ गरिएको छ, तत्काल रिहा हुनुपर्छ।’
यसै क्रममा राईले सांसदहरूले स्वकीय सचिव राख्न नपाउने व्यवस्थाप्रति पनि आपत्ति जनाएका थिए। उनले भने, ’हामीलाई राम्रो काम गर्नुपर्ने अपेक्षा गरिन्छ, तर एउटा स्वकीय सचिवसमेत राख्न नपाउने अवस्था किन?’
तर, छलफलका क्रममा प्रधानमन्त्री शाहले राईका यी माग र असन्तुष्टिप्रति कुनै प्रतिक्रिया नदिएको सहभागी सांसदले बताएका छन्। ‘उहाँले आफ्ना कुरा एकोहोरो राखिरहनुभयो, तर प्रधानमन्त्रीले कुनै जवाफ दिन चाहनुभएन,’ ती सांसदले भने।
