`

पक्राउ परेका काठमाडौंका पूर्वसीडीयो रिजालमाथि के छ आरोप ?

Nepal One HD १७ चैत २०८२ १२:१४
अपराध

काठमाडौं। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको दमनबारे छानबिन गर्न गौरीबहादुर कार्की नेतृत्वमा बनेको जाँचबुझ आयोग गठनप्रतिवेदन कार्यान्वयन गर्ने क्रममा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहेका छविलाल रिजाल मंगलबार बिहान पक्राउ परेका छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुविधानगरस्थित निवासबाट नियन्त्रणमा लिएको हो।

उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। अब प्रहरीले जिल्ला अदालत काठमाडौं बाट म्याद लिएर अनुसन्धान अघि बढाउनेछ। रिजालमाथि जेनजी आन्दोलनका क्रममा भएको हत्या घटनासँग सम्बन्धित आरोप लागेको छ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न कार्की आयोग गठन गरिएको थियो। आयोगले बुझाएको प्रतिवेदनमा तत्कालीन सीडीओ रिजालसहित गोकर्णमणि दुवाडी, रमेश लेखक र केपी शर्मा ओली विरुद्ध कारबाही सिफारिस गरिएको छ।

प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा यसअघि नै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन् । त्यसैगरी तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा विरुद्ध पनि ज्यानसम्बन्धी मुद्दामा कारबाही गर्न सुझाव दिइएको थियो।

कार्की आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषद्ले हालै गरेको थियो। त्यसपछि गृहमन्त्री सुधन गुरुङ ले सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।  

आन्दोलनका बेला रिजालले बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका थिए। तर स्थानीय प्रशासन ऐन २०२८ अनुसार घुँडामुनि गोली चलाउनुपर्ने व्यवस्था हुँदाहुँदै अधिकांश प्रदर्शनकारीको टाउको र छातीमा गोली लागेर मृत्यु भएको भन्दै आयोगले ‘अत्यधिक बल प्रयोग’ भएको निष्कर्ष निकालेको छ।

प्रतिवेदनमा रिजालविरुद्ध मुलुकी अपराध संहिताको दफा १८२ अनुसार फौजदारी कसुरमा कारबाही सिफारिस गरिएको छ ।

रिजालले रबरको गोली चलाउन आदेश दिएको दाबी गरेपनि प्रमाणसँग मेल नखाएको उल्लेख छ। संहिताको दफा १८२ मा ‘हेलचक्य्राइँपूर्ण कुनै काम गरी कसैको ज्यान मार्न नहुने’ भनिएको छ । यसमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने भनिएको छ । 

रिजालले भीड नियन्त्रणका क्रममा आवश्यक सावधानी नअपनाएको,लापरबाही गरेको र आफ्नो अधिकारको सही प्रयोग नगरेको भन्दै उनलाई दोषी ठहर गरिएको छ।  

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *