`

स्पेसएक्सको स्टारलिंक भू-उपग्रहमा खराबी

Nepal One HD १७ चैत २०८२ १७:०६
विज्ञान-प्रविधि

वासिङ्टन डिसी। स्पेसएक्सको स्टारलिंक टुक्राहरू फैलिएका छन्। मार्च २९ मा ‘स्टारलिंक-३४३४३’ नामक उपग्रहमा खराबी आएपछि त्यससँगको सञ्चार सम्पर्क विच्छेद भएको स्पेसएक्सले मार्च ३० मा पुष्टि गरेको हो।

मे २०२५ मा प्रक्षेपण गरिएको उक्त उपग्रह पृथ्वीबाट करिब ५६० किलोमिटर उचाइमा रहेको थियो। अन्तरिक्ष वस्तुहरू ट्रयाक गर्ने कम्पनी लियोल्याब्सका अनुसार घटनापछि उपग्रह वरिपरि धेरै संख्यामा साना टुक्राहरू देखिएका छन्।

यद्यपि, स्पेसएक्स र लियोल्याब्स दुवैले यसबाट तत्काल कुनै ठूलो जोखिम नरहेको बताएका छन्। स्पेसएक्सले ती टुक्राहरूले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) वा आगामी आर्टेमिस–२ प्रक्षेपणमा कुनै असर नगर्ने स्पष्ट पारेको छ।

कम उचाइमा घटना भएकाले यी टुक्राहरू केही हप्ताभित्रै वायुमण्डलमा खसेर नष्ट हुने अनुमान गरिएको छ। यसअघि डिसेम्बर १७ मा पनि अर्को स्टारलिंक उपग्रहमा यस्तै प्रकारको समस्या देखिएको थियो।

प्रारम्भिक अध्ययनका अनुसार बाह्य टक्करभन्दा पनि इन्धन ट्याङ्की वा ब्याट्रीजस्ता आन्तरिक कारणले यस्तो खराबी आएको हुनसक्ने देखिएको छ। अघिल्लो घटनापछि स्पेसएक्सले केही समयका लागि प्रक्षेपण रोकेको भए पनि यसपटक भने कम्पनीले नियमित उडान जारी राखेको छ।

हाल स्पेसएक्सको प्राविधिक टोलीले यस समस्याको मुख्य कारण पत्ता लगाउन अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *