वकिलको रिहाइ माग गर्दै एमाले सचिव महेश बस्नेतले लेखे ‘वकिलको पक्राउ कानुनी शासनविपरीत’
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले युवा संघका सचिवालय सदस्य वकिल बम पक्राउ प्रकरणबारे कडा प्रतिक्रिया जनाएका छन्।
बमलाई विना कारण नियन्त्रणमा लिएको भन्दै आपत्ति जनाएका हुन्। उनले लेखेका छन्, ‘हिजो राति करिब १० बजे सादा पोशाकका ४-५ जना प्रहरीले ‘केही समयका लागि’ भन्दै उहाँलाई नियन्त्रणमा लिएर कालिमाटी प्रहरी वृत्तमा थुनेको छ।’
उनले कुनै झैझगडा, उजुरी वा पुरानो मुद्दा नरहेको दाबी गर्दै यस्तो कार्य कानुनी शासनविपरीत भएको बताएका छन्।
‘न कुनै झैझगडा भएको थियो, न कुनै उजुरी वा पुरानो केस नै थियो। ठमेलमा व्यवसाय गरेकै कारण ‘गुन्डागर्दी’को आरोप लगाएर विना कारण र विना प्रमाण नियन्त्रणमा लिनु नागरिक स्वतन्त्रतामाथिको प्रहार हो,’ बस्नेतको भनाइ छ।
बस्नेतले उक्त घटनामा राजनीतिक उद्देश्य लुकेको आरोप लगाएका छन् । ‘यो घटनाले राजनीतिक उद्देश्यको संकेत गर्छ,’ उनले स्टाटसमा उल्लेख गरेका छन्।
उनले सरकार र सम्बन्धित निकायलाई यस्ता कार्य तुरुन्त अन्त्य गर्न आग्रह गर्दै वकिल बमलाई अविलम्ब रिहा गर्न माग गरेका छन्।
