बिचौलिया भन्दै प्रहरीले धरपकड गरेपछि,लेखापढी व्यवसायीको ‘पेन डाउन’
ललितपुर। नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन, पाटन इकाई समितिले आफ्ना सदस्यहरूमाथि प्रहरीले गरेको धरपकड र गिरफ्तारीप्रति असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेको छ।
समितिले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा भूमि सुधार तथा मालपोत कार्यालय ललितपुरबाट पर्याप्त आधार र प्रमाणबिना व्यवसायीहरूलाई ‘बिचौलिया’ भनेर पक्राउ गरिएको भन्दै उक्त कार्यको विरोध गरेको हो।
समितिका अनुसार २०८२ चैत २२ गते मालपोत कार्यालय ललितपुरमा कार्यरत व्यवसायीहरूलाई प्रहरीले नियन्त्रणमा लिई प्रहरी परिसर जावलाखेल पुर्याएको थियो। कानुनी अनुमति लिएर सञ्चालनमा रहेका भू-सेवा केन्द्रका सञ्चालक तथा लेखापढी व्यवसायीहरूलाई अपराधीजस्तो व्यवहार गरिएको भन्दै समितिले आपत्ति जनाएको छ।
सचिव भरत घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल कानून व्यवसायी परिषद् ऐन २०५० र लेखापढी व्यवसायी सम्बन्धी नियमावली २०५१ अन्तर्गत प्रमाणपत्र प्राप्त गरी सेवा दिँदै आएको उल्लेख छ। साथै भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशिका २०७६ अनुसार सञ्चालनमा रहेका भू-सेवा केन्द्रका व्यवसायीलाई बिचौलिया भन्नु गलत र अपमानजनक भएको दाबी गरिएको छ।
प्रहरीको व्यवहारले पेशागत मर्यादा तथा संवैधानिक अधिकारमा असर पुगेको निष्कर्ष निकाल्दै एशोसिएशनले विरोधस्वरूप देशभरका लेखापढी व्यवसायीहरूले अर्को सूचना नआएसम्म पेन डाउन गर्ने निर्णय गरेको छ।
पेन डाउनका क्रममा लुकिछिपी सेवा सञ्चालन गरेमा विधानअनुसार कारबाही हुने र संस्थाले कुनै सहयोग नगर्ने पनि स्पष्ट पारिएको छ।
एशोसिएशनले राज्य पक्षबाट भएको व्यवहार सुधार गरी पेशा-व्यवसाय निर्वाध रूपमा सञ्चालन गर्न सकिने वातावरण सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने जनाएको छ। आइतबार पक्राउ परेका व्यवसायीहरू भने रिहा भइसकेका छन्।
