ओशोका जीवन बदल्ने ‘दुई प्रेरक कथा’
काठमाडौं। चन्द्रमोहन जैन एक भारतीय रहस्यवादी दार्शनिक थिए। ११ डिसेम्बर १९३१ मा जन्मिएका उनि बाल्यकालदेखि नै तार्किक र विद्रोही स्वभावका थिए। उनी मृत्युको रहस्य बुझ्नका लागि श्मशान घाटमा जाने गर्थे। उनले परम्परागत धर्म, सामाजिक नियम र रूढिवादी सोचलाई खुलेर चुनौती दिए। ओशोले जीवनलाई पूर्णताका साथ जिउनुपर्ने बताएका छन्। दर्शनशास्त्रका प्राध्यापक रहिसकेपछि सन् १९६० को दशकमा उनी ‘आचार्य रजनीश’ भनेर चिनिन थाले। पछि उनी ‘भगवान श्री रजनीश’ र अन्ततः ‘ओशो’ नामले प्रसिद्ध भए।
सन् १९८० को दशकमा उनले अमेरिकाको ओरेगनमा ‘रजनीशपुरम’ नामक विशाल कम्युन (आश्रम) स्थापना गरे। यो स्थान आफ्नो विलासी जीवनशैली, ९३ वटा रोल्स-रोयस कारहरू र स्वतन्त्र विचारधाराका कारण धेरै विवादमा रह्यो। विवादका कारण ओशोलाई पछि अमेरिकाबाट निष्कासन गरियो। निष्कासनपछि उनले आफ्ना शिष्यहरूलाई किताब नपढ्न र केवल ध्यान गर्न सल्लाह दिएका थिए। सन् १९९० को १९ जनवरीमा पुणेमा उनको निधन भयो।
उनले जीवनभर स्वतन्त्र सोच, प्रेम र चेतनाको विस्तारमा जोड दिए, र उनका प्रवचन तथा पुस्तकहरू आज पनि अध्ययन र चर्चामा छन्।
ओशोले गहिरा विचार र दर्शनलाई सरल रूपमा बुझाउन आफ्ना प्रवचनहरूमा कथा, चुटकिला र उदाहरणहरू मिसाउँथे। यही कारण उनका प्रवचन घण्टौँसम्म पनि मानिसहरूले ध्यानपूर्वक सुन्थे। उनका विचार साधारण उपदेशजस्ता नभई जीवनसँग प्रत्यक्ष जोडिने र मानिसलाई आफ्नै जीवनबारे सोच्न बाध्य पार्ने शैलीमा हुन्थे । उनी साना उदाहरण, हास्य, विरोधाभास र कहिलेकाहीँ चकित पार्ने विचार प्रयोग गरेर गहिरा विषयहरू बुझाउँथे।
ओशोका तिनै प्रसिद्ध कथाहरूमध्ये दुई कथा यस्ता छन् :
१ . तिमीभित्र जे छ त्यहि बन्छौ
एउटा गाउँमा बिहान सूर्य उदाउँदै थियो। त्यही बेला एउटा घोडसवार गाउँको बाहिर, ढोकामा आएर रोकियो।
ढोकामा बसेका एक वृद्ध व्यक्तिसँग उसले सोध्यो, ‘म एउटा कुरा जान्न चाहन्छु। यस गाउँका मानिसहरू कस्ता छन्? मैले आफ्नो पुरानो गाउँ छोडेको छु र बसाईसराईका लागि ठाउँ खोज्दैछु। यदि यो गाउँ राम्रो भए म यहाँ बस्न चाहन्छु।’
वृद्धले घोडसवारलाई टाउकोदेखि खुट्टासम्म हेरे र भने, ‘म तिमीलाई उत्तर दिन सक्छु, तर त्यसअघि तिमीले मेरो एउटा प्रश्नको उत्तर दिनुपर्छ। तिमीले छोडेको गाउँका मानिसहरू कस्ता थिए?’
यो सुन्नासाथ घोडसवारको आँखामा क्रोध झल्कियो। उसले भन्यो, ‘त्यो दुष्ट गाउँजस्ता नराम्रा मानिसहरू संसारमा कतै पनि हुँदैनन्। उनीहरूकै कारण मैले त्यो गाउँ छोड्नुपर्यो। म आशा र कसम खाएर आएको छु-कुनै दिन शक्ति हातमा आयो भने तिनीहरूलाई आफ्नो व्यवहारको फल चखाउनेछु।’
वृद्धले भने, ‘त्यसो भए क्षमा गर्नुहोस्। म यहाँ सत्तरी वर्षदेखि बस्दै आएको छु। यस गाउँका मानिसहरू त त्यो गाउँभन्दा पनि खराब छन्। तपाईं अर्को गाउँ खोज्नुहोस्, यहाँका मानिसहरू राम्रो छैनन्।’
घोडसवार त्यहाँबाट जान पनि नपाउँदै पछाडिबाट एउटा बैलगाडी आएर रोकियो। त्यसमा बसेको अर्को मानिसले सोध्यो, ‘बाबा, के म सोध्न सक्छु, यस गाउँका मानिसहरू कस्ता छन्? मैले आफ्नो गाउँ छोडेको छु।’
वृद्धले भने, ‘कति अचम्मको कुरा! भर्खरै म यो प्रश्नको उत्तर दिइसकेको थिएँ। तर फेरि पनि सोध्नुपर्छ-तिमीले छोडेको गाउँका मानिसहरू कस्ता थिए?’
त्यो मानिसको आँखामा खुसीका आँसु भरिए। उसले भन्यो, ‘उनीहरूको सम्झनाले पनि मलाई आनन्द दिन्छ। यति माया गर्ने मानिसहरू सायद पृथ्वीमा कतै भेटिँदैनन्। दुर्भाग्यवश केही परिस्थितिका कारण मैले त्यो गाउँ छोड्नुपर्यो। तर आशा छ, एक दिन फेरि त्यही गाउँमा फर्केर बस्नेछु। अब भन्नुहोस्, यस गाउँका मानिसहरू कस्ता छन्?’
वृद्धले भने, ‘तिमी आफ्नो बैलगाडी गाउँभित्र लैजाऊ। म तिमीलाई स्वागत गर्छु र विश्वास दिलाउँछु कि म सत्तरी वर्षदेखि यहाँ बस्दै आएको छु, यस गाउँजस्ता असल र माया गर्ने मानिसहरू संसारमा कतै भेटिँदैनन्।’
म पनि त्यही गाउँको ढोकामा उभिएको थिएँ र मैले वृद्धका यी दुवै कुरा सुनेँ। म निकै अन्योलमा परेँ। यदि मैले एउटा मात्र कुरा सुनेको भए सजिलो हुन्थ्यो। पहिलो व्यक्तिलाई उनले भनेका थिए, ‘यस गाउँभन्दा खराब मानिसहरू भेट्न गाह्रो छ’, र दोस्रो व्यक्तिलाई भने,‘यस गाउँभन्दा राम्रो मानिसहरू भेट्न गाह्रो छ।’
जब बैलगाडी गाउँभित्र पस्यो, मैले त्यो वृद्धसँग सोधेँ, ‘म धेरै अन्योलमा परेँ। अन्ततः यस गाउँका मानिसहरू कस्ता छन्?’
वृद्धले शान्त स्वरमा भने, ‘हरेक गाउँका मानिसहरू त्यस्तै हुन्छन्, जस्तो तिमी स्वयं हुन्छौ। गाउँका मानिसहरू तिमीमा निर्भर हुन्छन्। यदि तिमीभित्र प्रेम छ भने गाउँ स्वर्ग बन्छ, र यदि तिमीभित्र घृणा छ भने गाउँ नरक बन्छ।’
२ . वर्तमानमा बाँच
तीन फकीरहरू (सांसारिक मोह त्याग गरेर ईश्वरको भक्तिमा लागेको साधु, सन्न्यासी वा जोगी) एउटा ठूलो यात्रामा थिए। उनीहरू मरुभूमिबाट गुज्रिरहेका थिए। मरुभूमि उनीहरूको अपेक्षाभन्दा धेरै लामो निस्कियो। उनीहरूको खाना सकियो, पानी पनि सकियो, र अझ कति यात्रा बाँकी छ भन्ने कुनै आशा देखिँदैनथ्यो। सम्भवतः उनीहरूले बाटो भुलिसकेका थिए।
एक साँझ उनीहरू रात बिताउन रोकिए। उनीहरूसँग केवल एउटा रोटीको टुक्रा र पानीको सानो बोतल मात्र बाँकी थियो। त्यो पानी तीनै जनाका लागि पर्याप्त थिएन, र त्यो रोटी पनि सबैका लागि पर्याप्त थिएन। त्यसैले उनीहरूले सोचे, ‘तीनै जनाले खाँदा सबैको अन्त्य हुन्छ, त्यसैले राम्रो हुन्छ कि एक जनाले मात्र खाओस्, सायद ऊ गन्तव्यसम्म पुग्न सक्छ।’
तर को खाने भन्ने विषयमा विवाद भयो। कुनै निर्णय हुन सकेन। त्यसपछि उनीहरूले निर्णय गरे कि हामी सुत्छौं, र रातमा जसले सबैभन्दा राम्रो देख्छ, बिहान त्यसको आधारमा निर्णय गर्नेछौं कि रोटी र पानी को पाउने।
तीनै जना सुत्न गए। बिहान उठेपछि पहिलो फकीरले आफ्नो सपना सुनायो, ‘मैले सपना देखेँ, परमात्मा मेरो अगाडि उभिएर भनिरहनुभएको थियो कि तेरो जीवन अहिलेसम्म अत्यन्त पवित्र छ, तेरो अतीत पवित्रताको प्रमाण हो, त्यसैले तिमी नै रोटी र पानीको योग्य हौ।’
त्यसपछि दोस्रो फकीरले भन्यो, ‘मैले पनि सपना देखेँ, अन्तरिक्षबाट आवाज आयो कि तिम्रो भविष्य अत्यन्त उज्ज्वल छ, आउने दिनहरूमा तिमीबाट ठूलो कल्याण हुनेछ, त्यसैले तिमी नै यसको योग्य हौ।’
अब उनीहरूले तेस्रो साथीलाई सोधे, ‘तिमीले के देख्यौ?’
उसले भन्यो, ‘मलाई न कुनै आवाज सुनियो, न कुनै परमात्मा देखियो, न कसैले केही भन्यो। तर मेरो भित्रबाट यो आदेश आयो कि उठ र गएर रोटी खा र पानी पिऊ।” अनि उसले त्यो रोटी र पानी खाइसकेको थियो।
ती तीन फकीरमध्ये एक अतीतलाई श्रेष्ठ मान्छ, अर्को भविष्यलाई, तर तेस्रोले वर्तमान क्षणलाई नै जीवन बनायो र त्यसैमा जियो।
याद रहोस्,वर्तमान क्षण बाहेक अरू कुनै कुराको वास्तविक अस्तित्व हुँदैन।
