प्रहरीको हत्या, चार जना पक्राउ
वीरगन्ज । वीरगन्जमा आइतबार साँझ एक जना प्रहरी जवानको हत्या भएको छ। मृतक जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान विकास चौरसिया हुन्।
प्रहरीका अनुसार उनी बिदामा घर आएका बेला घटनामा परेका हुन्। चौरसिया कालिकामाई गाउँपालिका-१ का स्थायी बासिन्दा हुन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सुदीपराज पाठकका अनुसार मुर्लीस्थित फिरोज मियाको घरमा उनलाई गम्भीर घाइते अवस्थामा फेला पारिएको थियो। उनको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ।
गम्भीर अवस्थामा उनलाई तत्कालै नारायणी अस्पताल पुर्याइए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सन्तोष साह, सोनी साह, विशाल साह र कन्हैया कुमार रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनापछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ।
