‘महाराज’ पोशाकको विवाद चर्किएपछि,मनोज गजुरेलले मागे माफी
काठमाडौं। ‘महाराज’ पात्रको पोशाकलाई लिएर विवाद चर्किएपछि कलाकार मनोज गजुरेल ले सार्वजनिक रूपमा माफी मागेका छन्।
‘कमेडी दरबार ३’ को पत्रकार सम्मेलनका क्रममा प्रयोग गरिएको उक्त पोशाकप्रति विभिन्न कोणबाट आलोचना भएपछि उनले बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
उनले आफ्नो भनाइमा कार्यक्रमको उद्देश्य कसैको मानमर्दन गर्ने वा भावनामा चोट पुर्याउने नभएको स्पष्ट पारेका छन्। कार्यक्रमको विषयअनुसार काल्पनिक पात्रका रूपमा प्रस्तुति दिइएको भए पनि सार्वजनिक संवेदनशीलताको विषयमा कमी–कमजोरी भएको स्वीकार गर्दै उनले क्षमायाचना गरेका हुन्।
पोशाक र प्रस्तुतीकरणलाई लिएर विशेषगरी राजसंस्था समर्थक तथा परम्परागत मूल्यप्रति आस्था राख्ने समूहबाट तीव्र आलोचना भएको थियो। सामाजिक सञ्जालमा समेत उनको चर्को विरोध भएको देखिएको थियो।
गजुरेलले आगामी दिनमा सांस्कृतिक गरिमा, ऐतिहासिक धरोहर तथा राष्ट्रिय संवेदनशीलतासँग सम्बन्धित विषयमा हास्यव्यङ्ग्य गर्दा अझ जिम्मेवार र सचेत हुने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, समाजलाई जोड्ने समावेशी र सन्तुलित कला प्रस्तुतिलाई प्राथमिकता दिने बताएका छन्।
