लेबनानमा आक्रमण : शान्ति सेना मारिए
एजेन्सी। दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसंघको शान्ति मिसन अन्तर्गतको गस्ती टोलीमाथि भएको आक्रमणमा एक फ्रान्सेली शान्ति सैनिकको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।
संयुक्त राष्ट्रसंघीय शान्ति मिसनले घटनाको पुष्टि गर्दै साना हतियारबाट गरिएको गोली प्रहारमा एक सैनिकको ज्यान गएको र दुई गम्भीरसहित तीन जना घाइते भएको जनाएको हो।
फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले यस आक्रमणका लागि हेजबुल्लाहलाई जिम्मेवार ठहराएका छन्। तर उक्त समूहले घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ।
दक्षिणी लेबनानमा हेजबुल्लाह र इजरायलबीच पछिल्लो समय तनाव बढिरहेका बेला यो घटना भएको हो। मार्च २ देखि द्वन्द्व चर्किएको र अप्रिल १६ मा १० दिने युद्धविराम लागू भए पनि अवस्था अझै संवेदनशील रहेको बताइएको छ।
फ्रान्सकी रक्षा मन्त्रीका अनुसार आक्रमण नजिकैबाट गरिएको थियो र घाइते सैनिकलाई बचाउने प्रयास असफल भएको थियो।
संयुक्त राष्ट्रसंघले घटनाको निन्दा गर्दै प्रारम्भिक रूपमा गैरराज्य पक्षबाट आक्रमण भएको संकेत गरेको छ। लेबनानका राष्ट्रपति र प्रधानमन्त्रीले पनि घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने बताएका छन्।
