उदयपुरमा तीन जनाको मृत्यु
उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिका-७ बेल्टार बजारमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।
बेल्टार बजारस्थित लक्ष्मीनारायण खड्काको घरमा मंगलबार बिहान लागेको आगलागीमा ७० वर्षीय लक्ष्मीनारायण खड्का र ३० वर्षीय पवन खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी निरञ्जन थापाले जानकारी दिए ।
आगलागीबाट लक्ष्मीनारायणका छिमेकी रवीन दास र सकल देवको घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि त्रियुगा र चौदण्डीगढी नगरपालिकाका दमकल, प्रहरी र स्थानीयवासीको सहभागिता रहेको थियो ।
आगलागी विद्युत् चुहावटका कारण भएको हो वा अन्य कारणले हो भन्नेबारे अनुसन्धान भइरहेको छ । आगलागीबाट करिब ६६ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको अनुमान गरिएको छ ।
यसैबीच, उदयपुरकै बेलका नगरपालिका-३ सातपत्रेमा गएराति जन्ती बोकेको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बेलका-३ का २७ वर्षीय रोमन बस्नेत रहेका छन् । प्रदेश १-०२-०४५ प ८४४६ नम्बरको मोटरसाइकलमा सवार बस्नेतलाई प्रदेश १–००२ ख ०१५८ नम्बरको बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
