`

डेटा सेन्टर राख्ने विषयले अमेरिकामा हलचल

Nepal One HD ८ वैशाख २०८३ १७:०४
विज्ञान-प्रविधि

एजेन्सी। अमेरिकामा कृत्रिम बुद्धिमत्ताका लागि निर्माण भइरहेका विशाल डेटा सेन्टरहरू अहिले सार्वजनिक आक्रोशको केन्द्र बन्न थालेका छन् ।

प्रख्यात लगानीकर्ता डेभिड फ्राइडबर्गका अनुसार यी डेटा सेन्टरहरू धनीहरूको ‘मन्दिर’ जस्तै बनेका छन्, जसले बढ्दो आर्थिक असमानता झल्काउँछ । धेरै अमेरिकी नागरिकले आफूलाई यस प्रविधिको विकास र त्यसबाट सिर्जित सम्पत्तिबाट टाढा महसुस गर्न थालेका छन् ।

तथ्यांकअनुसार सन् २०२६ को सुरुवातमै ६४ अर्ब डलर बराबरका डेटा सेन्टर परियोजनाहरू रोकिएका वा ढिलाइ भएका छन् । सन् २०२५ देखि हालसम्म करिब ९७.७ अर्ब डलर मूल्यका १८६ परियोजनाहरू खारेज वा स्थगित भएका छन् ।

हाल अमेरिकाका २४ राज्यमा १४२ वटा सक्रिय समूहहरू थप डेटा सेन्टर निर्माणविरुद्ध संगठित भइरहेका छन् । विभिन्न स्थानमा यस्ता परियोजनामाथि रोक लगाउने तयारीसमेत भइरहेको छ ।

विरोधका सतही कारणहरूमा अत्यधिक बिजुली र पानी खपत, ध्वनि प्रदूषण तथा स्थानीय विद्युत् प्रणालीमा पर्ने दबाब उल्लेख गरिन्छ । तर फ्राइडबर्गका अनुसार यसको गहिरो कारण ‘जनआक्रोश’ हो, जहाँ सर्वसाधारणले यी केन्द्रहरूलाई अनियन्त्रित सम्पत्ति सिर्जनाका प्रतीकका रूपमा हेर्न थालेका छन् ।

ठूला प्रविधि कम्पनीद्वारा सञ्चालित यी केन्द्रहरूको नाफा आम नागरिकसम्म नपुगेको र केवल कर्पोरेट तहमा सीमित भएको आरोप छ । यही कारण प्रविधिप्रति विश्वमै अग्रणी मानिएको अमेरिकामै नागरिकहरू एआईप्रति शंकालु र निराश देखिन थालेका छन् ।

स्थानीय चुनावहरूमा पनि यो असन्तुष्टि देखिन थालेको छ, जहाँ एआईलाई कर्पोरेट वर्गको उपकरण मान्ने धारणा बलियो बन्दै गएको छ ।

फ्राइडबर्गले यो प्रवृत्ति जारी रहे ३० वटासम्म राज्यमा डेटा सेन्टर निर्माणमा प्रतिबन्ध लाग्न सक्ने चेतावनी दिएका छन् ।

यससँगै एआईको विस्तार अब केवल प्रविधिको विषय मात्र नभई सामाजिक र आर्थिक द्वन्द्वको केन्द्र बन्दै गएको विश्लेषण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *