माइक्रोसफ्टको नयाँ परीक्षण : एजबाटै विन्डोजका नयाँ फिचर थाहा पाउन सकिने
काठमाडौं । माइक्रोसफ्टले पीसी प्रयोगकर्ताको कार्यक्षमता बढाउने उद्देश्यले नयाँ तरिका अपनाएको छ। अब विन्डोका नयाँ फिचरबारे जानकारी दिने काम माइक्रोसफ्ट एज मार्फत सुरु गरिएको छ।
केही महिनादेखि एजभित्रै नयाँ सुविधा देखाउने प्रणाली प्रयोग गर्दै आएको कम्पनीले अब विन्डोज अपडेटका नयाँ क्षमताहरू पनि सोही माध्यमबाट प्रयोगकर्तासम्म पुर्याउन थालेको छ। यसले मासिक अपडेटमार्फत आउने नयाँ फिचरहरू सजिलै बुझ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हाल माइक्रोसफ्टले एज ब्राउजरमार्फत विन्डोजका नयाँ फिचरबारे जानकारी दिने प्रणाली परीक्षण गरिरहेको छ। यसअन्तर्गत प्रयोगकर्ताले ट्राई नाउ जस्ता बटन प्रयोग गरेर सीधै नयाँ सुविधा चलाउन सक्छन्। उदाहरणका लागि, स्पिनिङ टुल्सबाट क्याप्चर गरिएका डकुमेन्टमा मार्कअप गर्ने सुविधा प्रयोग गर्न सकिन्छ।
अहिलेसम्म यो सुविधा एज ब्राउजरमै सीमित देखिएको छ। यसको कारण स्पष्ट नभए पनि माइक्रोसफ्टले यसलाई नयाँ विन्डोज अपडेटका फिचरहरू प्रयोगकर्तासम्म पुर्याउने माध्यमका रूपमा प्रयोग गरिरहेको देखिन्छ।
हालै थपिएका नयाँ फिचरहरूमा नोटिफिकेशन सेन्टरमा ठूलो घडी, इमोजी प्यानललाई टास्कबारमा पिन गर्ने विकल्प तथा Copilot मार्फत डकुमेन्ट सारांश गर्ने क्षमता समावेश छन्।
कतिपय प्रयोगकर्ताले यसलाई “थप विज्ञापन” का रूपमा लिन सक्छन्। तर माइक्रोसफ्टले भने यसलाई उपयोगी जानकारी दिने माध्यमका रूपमा प्रस्तुत गरेको छ। विशेषगरी कोपाइलटमार्फत डकुमेन्ट अपलोड र सारांश गर्ने जस्ता फिचरहरू पछिल्लो समय व्यापक रूपमा प्रचारमा छन्।
माइक्रोसफ्टका अनुसार नयाँ फिचरहरूबारे जानकारी नदिइए प्रयोगकर्ताले ती सुविधा प्रयोग नगर्ने र अन्ततः हट्न सक्ने जोखिम रहन्छ। तर धेरै सूचना र सम्भावित विज्ञापनबीच सन्तुलन कायम गर्नु चुनौतीपूर्ण रहेको कम्पनीका इन्जिनियरहरूले पनि स्वीकार गरेका छन्।
केही प्रयोगकर्ताका लागि बारम्बार सम्झाइने शैली असहज लाग्न सक्छ, विशेषगरी पहिले नै परिचित फिचरहरूको हकमा। यद्यपि, अरूका लागि भने यी अपडेट उपयोगी हुन सक्छन्। अन्ततः, प्रयोगकर्ताले चाहेमा यस्ता सूचना ट्याब बन्द गरेर सिधै आफ्नो काममा फर्कन सक्ने विकल्प पनि उपलब्ध छ।
