गुगलको ‘जेमिनी फर होम’ मा ‘निरन्तर संवाद’ सुविधा सार्वजनिक
काठमाडौं । गुगलले आफ्नो जेमिनी फर होम सेवामा नयाँ निरन्तर संवाद सुविधा सार्वजनिक गरेको छ । यस सुविधाले प्रयोगकर्ताले प्रत्येक पटक हे गुगल भनेर बोलाउनु नपरी लगातार कुरा गर्न सक्ने बनाउँछ ।
यो सुविधा सक्रिय भएपछि स्मार्ट उपकरणले प्रयोगकर्ताको प्रश्नको उत्तर दिएपछि केही सेकेन्डसम्म माइक खुला राख्छ । सो अवधिमा उपकरणको बत्ती बलिरहन्छ, जसले प्रयोगकर्तालाई संवाद जारी राख्न सकिने सङ्केत दिन्छ । त्यस क्रममा प्रयोगकर्ताले स्वाभाविक रूपमा थप प्रश्न सोध्न वा निर्देशन दिन सक्नेछन् ।
कम्पनीका अनुसार जेमिनीले संवादको सन्दर्भ सम्झिरहने भएकाले एउटै कुरा पटक पटक दोहोर्याउनुपर्ने हुँदैन । यसले संवादलाई छिटो, सहज र प्राकृतिक बनाउने अपेक्षा गरिएको छ । यो सुविधा आजदेखि जेमिनी फर होम भ्वाइस सहायकका सबै समर्थित भाषा र उपलब्ध क्षेत्रहरूमा विस्तार भइरहेको छ ।
यसलाई प्रयोग गर्न प्रयोगकर्ताले गुगल होम एपको सेटिङमा गएर जेमिनी फर होम भ्वाइस सहायक अन्तर्गत गएर म्यानुअली सक्रिय गर्नुपर्ने हुन्छ । गुगलका अनुसार नयाँ प्रणालीले प्रयोगकर्ताले सोधेका प्रश्न र वरिपरि भइरहेका अन्य कुराकानीबीच छुट्याउन सक्ने क्षमता राख्छ ।
यद्यपि विगतमा भ्वाइस सहायकहरूले अनचाहिँदो रूपमा कुराकानी सुनेका घटनाहरू सार्वजनिक भइसकेकाले नयाँ प्रविधिको प्रभावकारितामा चासो बढ्ने देखिन्छ । यसअघि पनि यस्तै प्रकारको निरन्तर संवाद सुविधा गुगल असिस्टेन्टमा सीमित रूपमा उपलब्ध थियो । तर अब गुगलले पुरानो सहायकलाई हटाउँदै जेमिनी फर होम लाई नयाँ पुस्ताको भ्वाइस सहायकका रूपमा अघि बढाउने तयारी गरेको छ ।
