`

ओलीको दुत बनेर बादलको गर्जन : ‘एकताबद्ध बनौँ’

Nepal One HD ९ वैशाख २०८३ १७:४४
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले पार्टीका लागि फागुन २१ को निर्वाचन परिणाम अस्वाभाविक रूपमा प्रतिकूल रहेको बताएका छन्।

पार्टी स्थापना दिवसका अवसरमा च्यासलमा आयोजित कार्यक्रममा स्वास्थ्यका कारण उपस्थित हुन नसकेपछि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’मार्फत उनले सन्देश पठाएका हुन्।

ओलीले सन्देशमा भनेका छन्, ‘देशभक्त शक्तिहरूका लागि हाम्रो इतिहासका कतिपय कालखण्ड यस्तै प्रतिकूलताका रहेका छन्, एमालेले त्यसलाई झेलेर यहाँसम्म आएको हो।आज हामीले व्यहोर्नुपरेको असफलताका विषयमा समग्र पार्टीभित्र गम्भीर समीक्षा गर्दै फेरि यस आन्दोलनलाई सफलताको उचाइमा पुर्‍याउनुपर्ने छ। यसका लागि हामी सबै एकताबद्ध हुनु जरुरी छ।’

उनले पार्टीको जीवनमा पटक-पटक चुनौती आएको उल्लेख गर्दै ‘जबज’ (जनताको बहुदलीय जनवाद) लाई आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा लिएको बताए। देशलाई समृद्ध र जनतालाई सुखी बनाउने लक्ष्यप्रति पार्टी प्रतिबद्ध रहेको उनको भनाइ छ।

उनले भनेका छन्, ‘पार्टीले आफ्नो उद्देश्यको झन्डालाई झुक्न दिएन, आफ्नो गन्तव्य बदलेन र समृद्ध नेपाल, सुखी नेपालीको आकाङ्क्षा पूरा गर्ने सङ्कल्प कहिल्यै छोडेन। आजको समयका चुनौतीलाई हामीले पार्टीलाई एकताबद्ध बनाएर सामना गर्नुपर्ने छ। त्यसका लागि हामी सबैले प्रण गरौँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *