`

अमेरिकालाई ‘कागजी बाघ’ भन्दै गर्जिएका थिए ‘माओ’

Nepal One HD २१ वैशाख २०८३ २३:५१
अन्तर्वार्ता/बिचार

माओ त्से-तुंग चीनका क्रान्तिकारी नेता र जनवादी गणतन्त्र चीनका संस्थापक हुन्। उनको जन्म  १८९३ डिसेम्बर २६मा हुनान प्रान्तमा भएको थियो। उनी चिनियाँ कम्युनिस्ट पार्टीका प्रमुख नेताका रूपमा उदाए र लामो गृहयुद्धपछि १९४९ मा चीनमा जनवादी गणतन्त्र स्थापना गरे। उनले भूमि सुधार र समाजवादी नीतिहरू लागू गरे। जसले चीनको संरचनामा ठूलो परिवर्तन ल्यायो। तर उनका केही नीतिहरू विवादास्पद पनि रहे।

माओ त्से गजब बोल्थे। उनका भाषणहरू प्रायः क्रान्तिकारी उत्साह, राजनीतिक संघर्ष र जनसमूहलाई प्रेरित गर्ने शैलीका हुन्थे।

उनी किसान, मजदुर र सामान्य जनतालाई केन्द्रमा राखेर कुरा गर्थे। उनका भाषणहरूमा वर्गसंघर्ष, साम्राज्यवादको विरोध, आत्मनिर्भरता र समाजवाद निर्माण जस्ता विषयहरू बारम्बार आउँथे।

उनी लामो व्याख्याभन्दा बढी स्पष्ट सन्देश र नारामूलक शैलीमा बोल्थे, जसले जनतालाई सीधा असर गर्थ्यो। उनका भाषणहरूमा ऐतिहासिक उदाहरण, क्रान्तिकारी संघर्षका अनुभव र भावनात्मक अपीलको मिश्रण पाइन्थ्यो, जसले श्रोताहरूमा जोश र राजनीतिक चेतना जगाउने काम गर्थ्यो।

उनको निधन१९७६ सेप्टेम्बर ९ मा बेइजिङमा भयो।

उनले अमेरिकालाई कागजी बाघ भन्दै दिएको भाषणको केहि अंश  जस्ताको त्यस्तै

‘पूँजीवादी संसारमा धेरै समस्याहरू छन्। हाम्रो संसारमा तुलनात्मक रूपमा कम समस्याहरू छन्। हामी दृढ रूपमा एकताबद्ध छौँ। युगोस्लाभिया हाम्रो शिविरमा छैन। त्यसैले यसको गन्ती हुँदैन। हामीले त्यसलाई बहिष्कार गरेका होइनौँ।  तर त्यो हामीसँग सामेल हुन चाहँदैन। हाम्रो शिविरका १२ राष्ट्रहरूको अवस्था निकै राम्रो छ। सधैं राम्रो नै रह्यो। कुनै खराब दिन आएको छैन। तर कहिलेकाहीँ आकाशमा कालो बादलहरू देखिन्छन्। केही मानिसहरू हामी सक्षम छैनौँ भन्छन्, अरूले हामी सक्षम छौँ भन्छन्। हामी भन्छौँ, ‘हामी सक्षम छौँ।’

मस्को सम्मेलनमा मैले १० वटा प्रमाणहरू प्रस्तुत गरेको थिएँ। जसले हामी सधैं सक्षम थियौँ भन्ने देखाउँछ। जब च्याङ काइ-शेक नानकिङमा थिए। र हामी येनानमा थियौँ। त्यतिबेला कुन पक्ष सक्षम थियो? त्यसबेला येनानमा केवल ७,००० मानिस थिए, उपनगरसहित। नानकिङ धेरै ठूलो थियो। नानकिङ र सांघाईजस्ता ठूला सहरहरू सबै च्याङ काइ-शेकको नियन्त्रणमा थिए। उनीसँग लाखौँ सैनिक थिए। जबकि हामीसँग केवल केही लाख गुरिल्ला सेना थियो।

सधैं सानोले ठूलोलाई पराजित गर्ने र कमजोरले शक्तिशालीलाई जित्ने कुरा हुँदै आएको छ। सानो र कमजोरमा ऊर्जा हुन्छ। तर ठूलो र शक्तिशालीमा हुँदैन।

समग्र अवस्था राम्रो छ। हामीले हिटलर, च्याङ काइ-शेक र अमेरिकी साम्राज्यवादको बारेमा धेरै कुरा गर्न आवश्यक छैन। हामीले सधैं अमेरिकी साम्राज्यवादलाई कागजको बाघ मानेका छौँ। दुर्भाग्य, एउटा मात्र अमेरिकी साम्राज्यवाद छ। यदि १० वटा भए पनि यसले हामीलाई फरक पार्दैन। यो ढिलो वा चाँडो समाप्त हुनेछ।

पेइचिङका जापानीहरूले हामीमाथि आक्रमण गरेकोमा मसँग माफी मागे। मैले भने,तिमीहरूले राम्रो काम गर्‍यौ। ठीक तिम्रो आक्रमण र चीनको आधाभन्दा बढी भाग कब्जा भएकै कारण हामी एकताबद्ध भयौँ। सम्पूर्ण राष्ट्रका जनतालाई नेतृत्व गरेर तिमीहरूलाई भगायौँ र पेइचिङमा आउन सक्यौँ।

जब हामी येनानमा थियौँ। हामी मेई लानफाङ र चेंग यानछ्युका नाटक कहिले हेर्न पाउँछौँ भनेर सोच्थ्यौँ। केही मानिसहरू त जीवनभर मौका नै आउँदैन भन्थे। तर हामीले ती नाटकहरू हेर्न पायौँ। क्रान्तिकारी अवस्था तीव्र रूपमा विकास भइरहेको थियो। सात वर्षभित्र सम्पूर्ण पार्टी एकताबद्ध भयो र च्याङ काइ–शेकलाई पराजित गर्‍यो। अहिले हामी एकताबद्ध भएर निर्माण कार्य गर्न चाहन्छौँ।

‘सातौँ पार्टी कांग्रेस’ ले एउटा कार्यक्रम बनाएको थियो। यो कांग्रेस पनि एकताको कांग्रेस थियो। विजयको कांग्रेस थियो। यसले साझा कार्यक्रम पनि बनायो। सम्पूर्ण पार्टीले समाजवाद निर्माणको सामान्य मार्गलाई सर्वसम्मत रूपमा तय गर्‍यो।  जुन सम्पूर्ण देशका जनताको पनि मार्गदर्शन हो। देशभित्रको अवस्था पार्टी र जनताबीचको एकताको अवस्था हो।

अन्तर्राष्ट्रिय अवस्था धेरै अशान्त छ। साम्राज्यवादी शिविरमा आन्तरिक झगडा छ। संसार शान्त छैन। फ्रान्स, अल्जेरिया, ल्याटिन अमेरिका, इन्डोनेसिया र लेबनानमा समस्याहरू छन्। यी सबै समस्याहरू पूँजीवादी संसारमा छन्। तर ती सबैले हामीलाई पनि असर गर्छन्। साम्राज्यवादको विरुद्ध हुने सबै कुरा हाम्रो लागि लाभदायक हुन्छ।

साम्राज्यवाद आफैँभित्र झगडा गरिरहेको छ। यसले इन्डोनेसिया, लेबनान र ल्याटिन अमेरिकालाई दमन गरिरहेको छ र अल्जेरियाका लागि लडिरहेको छ। सामान्य रूपमा हेर्दा कहिलेकाहीँ अवस्था खराब जस्तो देखिन्छ। आकाशमा कालो बादल देखिन्छ। त्यस्ता बेला हामीले दूरदर्शी हुनुपर्छ। हामीले अस्थायी अन्धकारबाट भ्रमित हुनु हुँदैन र सबै कुरा गलत छ भन्ने सोच्नु हुँदैन।

हाम्रो सबैभन्दा कठिन समय लङ मार्च थियो। अगाडि बाटो बन्द थियो र पछाडि सेना पछ्याइरहेको थियो। हाम्रो सेना, भूमि र पार्टी घटेर केवल एक दशांश बाँकी थियो। तर यी कठिनाइहरूले हामीलाई बलियो बनाए। पछि नयाँ अवसरहरू आए र हामी फेरि विकास भयौँ। हाम्रो एक औँला दस औँला बन्यो।

हामी जनवादी गणतन्त्र चीनको स्थापना र राष्ट्रिय विजयसम्म पुग्यौँ। सोभियत कम्युनिस्ट पार्टीको इतिहासको पहिलो अध्यायमा सानोबाट ठूलो बन्ने द्वन्द्ववादको कुरा गरिएको छ। सोभियत कम्युनिस्टहरू केही व्यक्तिको सानो कोषबाट सुरु भएर सम्पूर्ण राष्ट्रलाई नेतृत्व गर्ने ठूलो पार्टी बने। उनीहरूसँग सुरुमा एक राइफल पनि थिएन, तर उनीहरूले जार र केरेन्स्की सरकारलाई पराजित गरे।

त्यसरी नै हाम्रो पार्टी पनि सुरुमा केही दर्जन सदस्यबाट सुरु भएको थियो। पहिलो पार्टी कांग्रेसका चाउ फुहाई ‘राम्रो साथी’ थिए र चेन कुंगपो पनि ‘राम्रो साथी’ थिए। चेन तुशिउ बैठकमा आएनन्। तर प्रतिष्ठाका कारण उनी महासचिव चुनिए, तर उनी योग्य थिएनन्।

हाम्रो पार्टी इतिहासमा धेरै कठिनाइहरू आए-लङ मार्च, विभाजन र पुनः एकता। लङ मार्चको समयमा पनि पार्टी विभाजित भयो र फेरि एकताबद्ध भयो। झाङ गुओताओ अलग भए। तर एकता पुनः स्थापित भयो।

पछि येनानमा च्याङ काइ-शेक र जापानी सेनाले हामीलाई घेरे। १० भन्दा बढी आधार क्षेत्रमा विभाजन गरे। यस्तो कठिन अवस्थामा येनान वा नानकिङ कुन बलियो थियो? हामी वा च्याङ काइ–शेक? अहिले प्रमाणित भइसकेको छ कि हामी बलिया थियौँ। अन्यथा हामी यहाँ सभा गरिरहेका हुन्थेनौँ। उनी ताइवान किन भागे? अन्ततः विजेता को थियो?’

[स्रोत: ‘लङ लिभ माओ त्से–तुंग थट,’ अ रेड गार्ड पब्लिकेशन]


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *