मल्ललाई उछिनेर प्रधानन्यायाधीशमा शर्मा कसरी?
काठमाडौं। वरिष्ठता मात्र होइन,कार्यसम्पादन, फैसला क्षमता र न्यायिक सक्रियतालाई समेत आधार बनाएर डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको संवैधानिक परिषद् सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार न्याय प्रशासनलाई प्रभावकारी र छरितो बनाउने उद्देश्यसहित गरिएको मूल्याङ्कनमा शर्मा सबैभन्दा बढी कार्यसम्पादन गर्ने न्यायाधीशका रूपमा अगाडि देखिएका छन् । विगत केही वर्षदेखि सर्वोच्च अदालतमा मुद्दा फर्स्योटको गति र गुणस्तर सुधार गर्ने प्रयासकाबीच उनको कार्यसम्पादनलाई विशेष रूपमा मूल्याङ्कन गरिएको बताइएको छ ।
विगत पाँच वर्षको अवधिमा उनले सात हजारभन्दा बढी मुद्दा तथा निवेदन फर्स्योट गरेको तथ्यांक सार्वजनिक भएको छ । सर्वोच्च अदालतको अभिलेखअनुसार २०७६ साउनदेखि २०८१ असारसम्म शर्माले कुल सात हजार ३८८ मुद्दा तथा निवेदनमाथि फैसला गरेका थिए। जुन सो अवधिमा सबै न्यायाधीशमध्ये सबैभन्दा उच्च संख्या हो ।
न्यायपरिषद्ले सिफारिस गरेका ६ जना न्यायाधीशमध्ये तुलनात्मक रूपमा हेर्दा पनि शर्मा अग्रस्थानमा देखिएका छन् । उनीपछि अन्य न्यायाधीशहरूको कार्यसम्पादन संख्या तुलनात्मक रूपमा कम रहेको देखिन्छ, जसले उनको कार्यगत सक्रियता अझ स्पष्ट पार्ने बताइन्छ ।
सोही अवधिमा पहिलो वरीयतामा रहेकी सपना प्रधान मल्लले चार हजार ६७१ मुद्दा फर्स्योट गरेकी छन् । दोस्रो वरीयताका कुमार रेग्मीले छ हजार २२६ मुद्दामा फैसला गरेका छन् भने तेस्रो वरिष्ठताका हरि प्रसाद फुयाँलले छ हजार ५२६ मुद्दा फर्स्योट गरेका छन् ।
त्यस्तै, पाँचौँ रोलक्रममा रहेका नहकुल सुवेदीले दुई हजार ३९७ तथा छैटौँ नम्बरका तिल प्रसाद श्रेष्ठले दुई हजार ७४६ मुद्दामा फैसला गरेको सर्वोच्च अदालतको अभिलेखमा उल्लेख छ । यस तथ्यांकले न्यायपालिकाभित्र कार्यक्षमता र उत्पादनशीलताको मूल्याङ्कन पनि अब निर्णायक आधार बन्दै गएको संकेत गर्ने बताइएको छ ।
