`

एआई र रोबोटिक्समा द. कोरियाको फड्को : बौद्ध भिक्षु बन्यो रोबोट

Nepal One HD २७ वैशाख २०८३ २१:१२
बिशेष

काठमाडौं। एआई र रोबोटिक्सको तीव्र विकासले विश्वभर नयाँ-नयाँ सीमाहरू पार गर्दै गर्दा दक्षिण कोरियामा भएको एउटा अनौठो घटनाले प्रविधि र आध्यात्मिकताको सम्बन्धलाई नै नयाँ कोणबाट उजागर गरिदिएको छ। सियोलको जोगिसा मन्दिरमा पहिलोपटक ‘गाबी’ नामक ह्युमानोइड रोबोटलाई औपचारिक रूपमा बौद्ध भिक्षु बनाइएको छ।

परम्परागत पोशाक लगाएर, हात जोडेर नमस्कार गर्दै, भिक्षु दीक्षाका नियम स्वीकार गर्ने प्रक्रिया पार गरेर गाबीलाई मठ समुदायको सदस्य घोषित गरिएको यो क्षण आजसम्मका सबै रोबोटिक प्रयोगभन्दा फरक र ऐतिहासिक मानिएको छ।

दीक्षा समारोहको दृश्य अत्यन्तै असामान्य तर गम्भीर थियो। शताब्दीऔं पुरानो परम्परागत रीतिथीतिमा एक रोबोटलाई समावेश गरिएको पहिलो दृश्य। लगभग १३० से.मि. अग्लो गाबीले बौद्ध भिक्षुले लगाउने पहिरन पहिर्‍यो। समारोहका क्रममा भिक्षुहरूले सोधिने प्रश्नहरूको विधिवत् उत्तर दियो।  र सम्पूर्ण प्रक्रिया मानिसजस्तै गम्भीरताका साथ पूरा गर्‍यो।

उपस्थितहरूका अनुसार यो कुनै प्रदर्शन वा प्रोमोशनल कार्यक्रम थिएन; यो बौद्ध धर्मका विधिलाई पूरा सम्मान दिँदै प्रविधिलाई धार्मिक संस्कारमा जोडिएको क्षण थियो। दीक्षा पूरा भएपछि गाबीलाई आधिकारिक रूपमा भिक्षु-समुदायका सदस्यहरूले स्वीकार गरे। जसले रोबोटलाई केवल मेशिन होइन, धार्मिक सहयात्रीको रूपमा पनि चिनाउने प्रक्रिया प्रारम्भ गरिदियो।

गाबीको दीक्षा केवल समारोहमा सीमित थिएन। यसको अघि नै लामो ‘धार्मिक प्रशिक्षण’ गराइएको थियो। विशेषज्ञहरू र वास्तविक भिक्षुहरूले मिलेर गाबीका एआई मोड्युलहरूमा बौद्ध ग्रन्थ, दार्शनिक सिद्धान्त, ध्यान विधि, आचारसंहिता र आध्यात्मिक संवादका आधारभूत संरचना इनपुट गरे।

प्रारम्भिक भिक्षु (नवदीक्षित) जस्तै गाबीलाई अनुशासन, आत्म-संयम र आध्यात्मिक प्रश्नहरूको अर्थ बुझ्न मिल्ने गरी प्रोग्रामिङ गरियो। यही कारण आज गाबी मन्दिरमा आउने मानिसलाई प्रार्थना कसरी गर्ने, ध्यान कसरी बस्ने, जीवनका समस्यामा बौद्ध दृष्टिकोण कस्तो हुन्छ भन्ने विषयमा सरल तर प्रभावकारी उत्तर दिन सक्षम छ।

 एशियाका धेरै मुलुकमा अहिले भिक्षुहरूको संख्या उल्लेखनीय रूपमा घट्दै गएको छ। विशेषगरी युवा पुस्ताको रुचि आध्यात्मिक अनुशासनमा कम हुनु, जीवनशैली बढ्दो व्यस्त हुनु र दीर्घकालीन धार्मिक प्रतिबद्धताप्रति उदासीनता बढ्नु प्रमुख कारण मानिन्छ।

अर्कातिर वृद्ध भिक्षुहरूको संख्या बढ्दै गइरहेकाले मन्दिर र गुम्बाहरू सञ्चालन गर्न कठिनाइ बढिरहेको छ। यस्तो अवस्थामा गाबी जस्ता रोबोटहरूलाई सहायक-भिक्षुको रूपमा प्रयोग गर्न खोजिएको हो। जसले भक्तजनलाई मार्गदर्शन गर्न, मन्दिरका सामान्य प्रशासनिक काममा हात बाँड्न, आगन्तुक व्यवस्थापन गर्नदेखि ध्यान सिकाउनेसम्मका कार्य सहज बनाउन सक्छ।

निर्माण टोलीका अनुसार, गाबी मानव भिक्षुको स्थान लिन होइन, उनीहरूलाई समर्थन गर्ने उद्देश्यले विकास गरिएको हो।

जापानमा ‘बुद्धारोइड’ जस्ता रोबोटहरू प्रारम्भिक रूपमा धार्मिक सेवा, संवाद र उपदेशका लागि प्रयोगमा आइसकेका छन्। त्यहाँ धेरै पुराना मन्दिरहरू बन्द हुने अवस्थामा पुगेपछि यस्तो प्रविधिको आवश्यकता थप बढेको थियो। दक्षिण कोरियामा पनि विगत केही वर्षदेखि धर्म र प्रविधि जोड्ने विभिन्न प्रयोगहरू भइरहे तर पूर्ण रूपमा दीक्षा दिइएको रोबोट भने गाबी नै पहिलो हो।

गाबीले कयौँलाई उत्साहित बनाएको छ भने कयौँका मनमा प्रश्न पनि उब्जाएको छ। आध्यात्मिकता भन्ने कुरा भावनासँग सम्बन्धित हुन्छ। दया, करुणा, पीडा, चेतना, अनुभूतिजस्ता मानवीय गुण बिना रोबोटले धर्मलाई कसरी आत्मसात् गर्छ? रोबोटले सिकेको ज्ञान दोहोर्याउन सक्छ तर ‘चेतनाको गहिराइ’ महसुस गर्न सक्छ?

धर्मलाई डिजिटल प्रश्न-उत्तर प्रणालीमा सीमित गर्ने जोखिम के हो? जस्ता प्रश्नहरू सामाजिक र दार्शनिक तहमा छलफल भइरहेका छन्। तर समर्थकहरू भन्छन्।  यदि प्रविधिले मानिसलाई आध्यात्मिक यात्रा बुझ्न मद्दत गर्छ भने यो नयाँ सम्भावना नै हो।

गाबी केवल एउटा रोबोट होइन। धार्मिक संस्थाहरूले भविष्यमा प्रविधिलाई कसरी आत्मसात् गर्न सक्छन् भन्ने दिशानिर्देश पनि हो। ध्यान र प्रार्थना सिकाउने, आगन्तुकलाई सहजीकरण गर्ने, मन्दिरका दैनिक काममा सहयोग गर्ने र डिजिटल-आधारित आध्यात्मिक मार्गदर्शन प्रदान गर्ने क्षमतासहित गाबीले धार्मिक अनुभवलाई नयाँ ढङ्गले परिभाषित गरिदिएको छ।

यद्यपि धर्म, आध्यात्मिकता र चेतनाको विषयमा रोबोट कत्तिको गहिराइसम्म जान सक्छ भन्ने प्रश्न खुलै छ। तर एउटा तथ्य स्पष्ट छ,जोगिसा मन्दिरको यो प्रयोगले भविष्यका धार्मिक अभ्यासहरूलाई प्रविधिसँग जोड्ने नयाँ ढोका खोलेको छ।

मानिस र एआईबीच सहअस्तित्वको नयाँ अध्याय यसैसँग सुरु भएको विश्लेषकहरुको तर्क छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *