`

यस वर्ष पनि गैँडा गणना नहुने, किन ?

Nepal One HD २८ वैशाख २०८३ १४:०५
अर्थ समाचार

चितवन। बजेटको अभाव र बाघ गणनासँग जुधेकाले गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडाको गणना यस वर्ष पनि नहुने भएको छ।

हरेक चार वर्षमा हुँदै आएको गैँडा गणना यसपटक बाघ गणनासँगै समय व्यवस्थापन मिलाउन नसकिएकाले स्थगित गरिएको हो। बर्खा सुरु भएसँगै कार्यक्षेत्रमा खटिएर गणना गर्न कठिन हुने भएकाले अर्को वर्ष मात्र गणना गरिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।

गैँडा गणना आनुवंशिक (जेनेटिक) विधिबाट गरिने तयारी गरिएको छ। विभागको वन्यजन्तु सर्वेक्षणसँग सम्बन्धित प्राविधिक समितिको बैठकले उक्त विधिका लागि आवश्यक ‘प्रोटोकल’ तयार गर्ने निर्णय गरेको छ।

समितिका संयोजक तथा विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यका अनुसार प्रोटोकल तयार गर्ने छलफल सुरु भइसकेको छ।

आनुवंशिक विधिअन्तर्गत गैँडाको गोबर (मल) संकलन गरी प्रयोगशालामा डीएनए परीक्षणमार्फत सङ्ख्या र लिङ्ग पहिचान गरिन्छ। आचार्यका अनुसार प्रत्येक गैँडाको जेनेटिक संरचना फरक हुने भएकाले यसबाट छुट्टै पहिचान सम्भव हुन्छ।

गैँडाले निश्चित स्थानमा दिसा गर्ने भएकाले ती स्थान पहिचान गरी सिसी क्यामेरा जडान गरेर गोबर संकलन गरिने योजना छ। यी सबै प्रक्रिया प्रोटोकलमा विस्तृत रूपमा समेटिनेछ।

मुख्य रूपमा चितवन राष्ट्रिय निकुञ्जमा यो विधि प्रयोग गरिनेछ। ठूलो क्षेत्र भएकाले कति प्रतिशत भूभागबाट नमुना संकलन गर्ने भन्ने विषय पनि प्रोटोकलमा निर्धारण गरिने छ।

गैँडाको वासस्थान खोलाको किनार, घाँसेमैदान र नदी तटीय वन क्षेत्र हुने भएकाले त्यस्ता क्षेत्र प्राथमिकतामा पर्नेछन्। नेपालका चार निकुञ्जमा गैँडा पाइने भए पनि यो विधि मुख्य रूपमा चितवनमा मात्र प्रयोग गरिने विभागले जनाएको छ।

बर्दिया, शुक्लाफाँटा र पर्सा राष्ट्रिय निकुञ्जमा भने प्रत्यक्ष अवलोकन विधिबाट गणना गर्न सकिने भएकाले त्यहाँ फरक प्रक्रिया अपनाइनेछ।

नेपालमा हिउँ चितुवाको गणनामा मात्र हालसम्म आनुवंशिक विधि प्रयोग हुँदै आएको छ। विभागका अनुसार यो विधि कम खर्चिलो, सुरक्षित र वैज्ञानिक रूपमा बढी विश्वसनीय मानिन्छ।

यसअघि प्रयोग हुँदै आएको प्रत्यक्ष र फोटो आइडी विधि तुलनात्मक रूपमा महँगो र जोखिमपूर्ण रहेको बताइएको छ।

सन् २०२१ मा गरिएको गणनामा देशभर ७५२ गैँडा भेटिएका थिए। त्यसमध्ये चितवनमा ६९४, बर्दियामा ३८ र शुक्लाफाँटामा १८ गैँडा रहेका थिए।

सन् १९६० को दशकमा गैँडाको संख्या करिब १०० मा झरेको थियो भने १९५० को दशकमा अनुमानित ८०० गैँडा रहेको तथ्यांक उल्लेख छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *