नेपालको कार्बन व्यापार : चार अर्ब १६ करोड आम्दानी
काठमाडौं। नेपालले कार्बन व्यापारमार्फत चार अर्ब १६ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका अनुसार घरायसी बायोग्यास, सुधारिएको पानीघट्ट, लघु तथा साना जलविद्युत् लगायत आठ वटा आयोजना कार्बन बिक्रीका लागि दर्ता भइसकेका छन्।
सन् २००७ देखि २०२५ सम्मको अवधिमा ती आयोजनाबाट ६६ लाख ८८ हजार टन कार्बन उत्सर्जन न्यूनीकरण भएको प्रमाणित भएको केन्द्रले जनाएको छ। सोही आधारमा नेपालले उक्त रकम आम्दानी गरेको हो।
वातावरण संरक्षण ऐन, २०७६ अनुसार नेपाल सरकारले अन्तर्राष्ट्रिय सन्धिअन्तर्गत स्थापित संयन्त्र तथा विदेशी संस्था र निजी क्षेत्रसँग कार्बन व्यापार गर्न सक्ने व्यवस्था छ।
यसै व्यवस्थाअनुसार नेपालले विगतदेखि नै विभिन्न वैकल्पिक ऊर्जा र वातावरणमैत्री आयोजनामार्फत कार्बन व्यापार गर्दै आएको हो।
नेपालले पहिले क्योटो प्रोटोकलअन्तर्गतको ‘स्वच्छ विकास संयन्त्र’मार्फत कार्बन व्यापार गर्दै आएको थियो। तर सन् २०२३ मा उक्त संयन्त्र बन्द भएपछि अहिले ‘गोल्ड स्ट्यान्डर्ड’ प्रणालीमार्फत आयोजना दर्ता गरिँदै आएको केन्द्रले जनाएको छ।
नयाँ प्रणालीअनुसार दर्ता र प्रमाणीकरण प्रक्रिया ढिलो हुँदा अपेक्षित रूपमा कार्बन आम्दानी विस्तार हुन नसकेको पनि केन्द्रले जनाएको छ।
