कामु प्रधानन्यायाधीशलाई रास्वपा सांसदले भने – ‘राजनीति गर्ने भए कोट आउनुहोला’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको भूमिकामाथि प्रश्न उठाएका छन्।
प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनीहरूले सर्वोच्च अदालत प्रशासन र रिट दर्तासम्बन्धी विषयमा दिइएको आदेशप्रति असन्तुष्टि जनाएका हुन्।
सांसद यज्ञमणि न्यौपानेले अदालतको आदेशको प्रकृति र प्रक्रियामाथि प्रश्न उठाउँदै भने, ‘सर्वोच्च अदालत कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको आदेश भन्ने एउटा आदेश अहिले मिडियामा छरपस्ट आएको छ। यो आदेश इजलास संयुक्त हो कि, एकल हो कि, वा बृहत् इजलास हो कि, या पूर्ण इजलास हो कि, वा संविधानको कुन धाराले गाइड गरेको इजलास हो, यहाँ देखिन्न । अदालतका आफ्ना मर्यादा र सीमा छन्।’
यस्तै, उनले न्यायिक प्रक्रियामा देखिएको अस्पष्टताप्रति असन्तुष्टि जनाउँदै न्यायिक संस्थाको मर्यादामा ध्यान दिनुपर्ने बताए।
यसैगरी, सांसद समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीशको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भनिन्, ‘उहाँले लडाइँ अझै बाँकी छ भन्नुभएको छ, कोसँग लडाइँ बाँकी छ ? उहाँ त न्यायमूर्ति हो।’
उनले थप भनिन्, ‘उहाँले सरकारसँग लडाइँ अझै बाँकी छ भन्नुभएको हो ? राजनीति गर्न मन भए कोट खोलेर आउनुहोला हामी तयार छौँ।’
