रास्वपाको बैठकबाट लखेटिए रास्वपाका सांसदहरु(भिडिओ)
बारा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा भएको विवादले तनावको रूप लिँदा केही प्रतिनिधिसभा सदस्यहरू बैठक स्थलबाट लखेटिएका छन्।
आज कलैयामा आयोजित उक्त बैठकमा बारा जिल्लाका प्रतिनिधिसभा सदस्यहरू रहबर अन्सारी, अरबिन्द साह, गणेश धिमाल र चन्दन सिंह सहभागी भएका थिए। सहभागीहरूका अनुसार उनीहरूले संस्थापक पक्षमाथि दबाब सिर्जना गर्ने प्रयास गरेपछि बैठकमा विवाद उत्पन्न भएको हो।
विवाद क्रमशः चर्किँदै जाँदा आक्रोशित कार्यकर्ताले ती सांसदहरूलाई धक्का दिँदै बैठक स्थलबाट बाहिर निकालेका थिए। स्थिति झन् तनावपूर्ण बनेपछि प्रहरीले हस्तक्षेप गरी उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको बताइएको छ।
यस घटनाले रास्वपा बारा जिल्लाभित्रको आन्तरिक विवादलाई अझ गहिरो बनाएको देखिन्छ। केही दिनअघि मात्र संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको सदस्यता खारेज भएपछि जिल्लामा असन्तुष्टि र विवाद बढ्दै गएको थियो।
घटनापछि स्थानीय राजनीतिक वातावरण थप तनावपूर्ण बनेको छ भने पार्टीभित्रको आन्तरिक समन्वय र नेतृत्व विवाद पुनः सतहमा आएको देखिएको छ।
