`

आर्थिक सर्वेक्षण २०८२/०८३(पूर्णपाठ)

Nepal One HD १३ जेठ २०८३ १४:४४
अर्थ समाचार

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बुधबारको प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत गरेका छन्। 

यस्तो छ अर्थमन्त्री वाग्लेले प्रस्तुत गरेको सर्वेक्षण: 

चालु आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षणअनुसार नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। यस अवधिमा आर्थिक वृद्धिदर ३ दशमलव ८५ प्रतिशत रहने प्रक्षेपण छ। प्रतिव्यक्ति राष्ट्रिय आय १,५३५ अमेरिकी डलर पुगेको पनि सर्वेक्षणमा उल्लेख छ।

प्रदेशगत विश्लेषणमा बागमती र गण्डकी प्रदेशबाहेक अन्य प्रदेशहरूको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा कम रहने देखिएको छ। कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैर कृषि क्षेत्रको ७६ प्रतिशत रहने अनुमान गरिएको छ। यसमा बागमती प्रदेशको योगदान सबैभन्दा बढी ३६ दशमलव ७ प्रतिशत रहने प्रक्षेपण छ।

मूल्य स्थितिमा चालु आवको फागुनसम्म औसत मुद्रास्फीति २ दशमलव १३ प्रतिशत रहने अनुमान छ। राजस्वतर्फ संघीय राजस्व ३ दशमलव २ प्रतिशतले वृद्धि भएको छ भने संघीय खर्च १० दशमलव ४ प्रतिशतले बढेको छ। तर, पुँजीगत खर्चमा अपेक्षित प्रगति हुन नसकेको अर्थमन्त्री वाग्लेले उल्लेख गरे ।

सरकारी वित्त व्यवस्थापनमा आन्तरिक तथा बाह्य सार्वजनिक ऋण करिब ३ खर्ब पुगेको छ। कुल तिर्नुपर्ने सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुगेको छ, जुन कुल गार्हस्थ उत्पादनको ४३ दशमलव ६ प्रतिशत बराबर हो। वित्त सन्तुलन ५८ अर्ब र प्राथमिक सन्तुलन ९ अर्ब रहेको छ।

बाह्य क्षेत्रमा व्यापार घाटा ११ दशमलव २ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब पुगेको छ । यद्यपि, विप्रेषण आप्रवाह ३७ दशमलव ७ प्रतिशतले वृद्धि भई १४ खर्ब ५० अर्ब पुगेको छ। त्यस्तै, शोधनान्तर स्थिति ६ खर्ब ५८ अर्ब र चालु खाता ५ खर्ब ५३ अर्ब रहेको छ। विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब पुगेको छ, जसले करिब १८ दशमलव ५ महिनासम्म वस्तु तथा सेवा आयात धान्न सक्छ ।

वित्तीय क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १५ दशमलव १ प्रतिशतले बढेको छ भने कर्जाको वृद्धिदर ६ दशमलव ७ प्रतिशत रहेको छ। 

पछिल्लो वर्षहरुमा नेपालको डिजिटल अर्थतन्त्रमा उल्लेखनीय सुधार भएको छ, जसअन्तर्गत क्यूआर कारोबार १ खर्ब २५ अर्ब पुगेको छ।

कृषि क्षेत्रमा धान उत्पादन ४ दशमलव २० प्रतिशतले घटेर ५७ लाख ५ हजार मेट्रिक टन पुगेको छ। १ हजार ५ सय ७० हेक्टरमा सिँचाइ विस्तार भएको छ । अर्थमन्त्री वाग्लेका अनुसार वैदेशिक लगानीतर्फ ४० अर्ब ७० करोड बराबरको लगानी सुनिश्चित भएको छ।

पूर्वाधार क्षेत्रमा नेपालको विद्युत् उत्पादन क्षमता ४,१०५ मेगावाट पुगेको छ भने विद्युतको राष्ट्रिय पहुँच ९९ प्रतिशत जनासंख्यासम्म पुगेको छ। विस्तार भएको १ लाख ४ हजार ९०६ किलोमिटर सडकमध्ये २५ हजार ५ सय ५२ किलोमिटर सडक सञ्जाल कालोपत्रे गरिएको छ। पर्यटन क्षेत्रमा प्रति पर्यटक बसाइ अवधि १६ दशमलव ३४ पुगेको छ।

सामाजिक सूचकांकमा मानव विकास सूचकांक ० दशमलव ६२२ पुगेको छ भने औसत आयु ७१ दशमलव ३ वर्ष रहेको छ। मातृ मृत्यु दर प्रति १ लाख जीवित जन्ममा १५१ र पाँच वर्षमुनिका बाल मृत्यु दर प्रति हजारमा ३३ रहेको छ। आधारभूत तहको खुद भर्नादर ९७ दशमलव ८ प्रतिशत पुगेको छ।

सामाजिक सुरक्षामा २१ लाख ५९ हजार नागरिक स्वास्थ्य बीमामा, ३६ लाख ४२ हजार सामाजिक सुरक्षा कार्यक्रममा र २८ लाख ९१ हजार नागरिक सामाजिक सुरक्षा आधारित लाभमा समेटिएका छन्। आधारभूत खानेपानी सेवाको पहुँच ९७ प्रतिशत जनसंख्यामा विस्तार भएको छ ।

कार्बन व्यापारबाट हालसम्म ३ करोड ६ लाख  अमेरिकी डलर आम्दानी भएको छ भने दिगो विकास लक्ष्य सूचकाङ्कमा नेपाल ६८.५८ स्कोरसहित १६७ देशमध्ये ८५ औँ स्थानमा छ।

अर्थमन्त्री वाग्लेका अनुसार राष्ट्रिय अर्थतन्त्रको अवस्था, बाह्य क्षेत्रको स्थिरता र सामाजिक विकास सन्तोषजनक रहेको छ। यद्यपि, आर्थिक वृद्धि, मूल्य स्थिरता, व्यापार घाटा, वित्तीय सन्तुलन तथा जलवायु जोखिमका विषयमा थप अध्ययन र सुधार आवश्यक रहेको उल्लेख गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *