साँस्कृतिक आन्दोलनको रूपमा छैटाैं आदिवासी चलचित्र महाेत्सव मनाइने
काठमाडौं । आदिवासी जनजाति चलचित्र महासंघले छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३ लाई आदिवासी समुदायको भाषा, इतिहास, सांस्कृतिक स्मृति र अस्तित्वको पुनस्र्थापनासँग जोडिएको सांस्कृतिक आन्दोलनका रूपमा प्रस्तुत गरेको छ । महासंघले यही जेठ १७, १८ र १९ गते काठमाडौंस्थित चलचित्र विकास बोर्डमा हुने महोत्सव आदिवासी चलचित्रलाई मनोरञ्जनभन्दा माथि उठाएर सांस्कृतिक न्याय, आत्म–प्रतिनिधित्व र ज्ञान–उपनिवेशवादविरुद्धको प्रतिरोधको माध्यमका रूपमा हुने पनि जनाएको हो ।
महासंघले आधुनिक विकास केन्द्रित विश्वदृष्टिले प्रकृति, समुदाय र आध्यात्मिक सहअस्तित्वलाई संकटमा पारेको उल्लेख गर्दै आदिवासी ज्ञान–परम्परा अहिले विश्वका लागि वैकल्पिक बौद्धिक आधारका रूपमा पुनः स्थापित हुँदै गएको दाबी गरेको छ । विज्ञप्तिमा आदिवासी चलचित्रलाई समुदायको ब्रह्माण्ड–दृष्टि, प्रकृतिसँगको सम्बन्ध, पूर्वज स्मृति, लोकज्ञान र सांस्कृतिक चेतनाको जीवित अभिलेखका रूपमा चित्रित गरिएको छ ।
महासंघका अनुसार नेपालमा आदिवासी चलचित्र निर्माणको चार दशक लामो यात्रामा हालसम्म करिब डेढ हजारभन्दा बढी चलचित्र निर्माण भइसकेका छन् । प्रारम्भिक चरणका चलचित्रले आदिवासी पहिचानलाई दृश्यता दिने काम गरेको भए पनि अहिलेका सिर्जनाहरूले मातृभाषा, भूमि–सम्बन्ध, लोकसंस्कृति, अनुष्ठान र सामुदायिक आवाजलाई केन्द्रमा राख्दै पृथक आदिवासी सिनेम्याटिक सौन्दर्य–दर्शन निर्माण गरिरहेका छ ।
महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, थारु, तामाङ, मगर, भुजेल, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र तथा एआई जेनेरेटेड वृत्तचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
कथानक चलचित्रतर्फ ‘रीत’, ‘स्वयंगु’, ‘ङोल्स्यो रामरानी’, ‘ह्याङ तामाङ’ र ‘दिलसरा’ प्रदर्शन हुनेछन् भने लघु चलचित्रतर्फ ‘तङसिङ’, ‘दुखला ग्यम’, ‘जाइछै सौसरा’, ‘निको पहिचान’ र ‘लाहुरेनी’ समावेश छन् ।
त्यसैगरी ‘आग्रे’, ‘लदि पुजा’ तथा ‘बिराटनगरके प्राचिन राजवंशी’ शीर्षकका वृत्तचित्र पनि प्रदर्शन गरिनेछन् । महोत्सवमा उत्कृष्ट चलचित्र, निर्देशक, स्क्रिप्ट, अभिनेता, अभिनेत्री र छायांकनसहित विभिन्न विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
